

धनगढी । धनगढीको संजोक होटलमा बसेका बेला आफूमाथि जबरजस्तीकरणी गरेको भन्दै युवकलाई थुनाएकी युवतीले जाहेरी दिएकी छैनन् ।
राति प्रहरीलाई फोन गरेकी ती युवतीले किटानी जाहेरी नदिएपछि जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेका युवकलाई छाडेको छ ।
प्रहरीले युवतीको मौखिक गुनासोको आधारमा डडेल्धुराको अमरगढी नगरपालिका–२ का एक युवकलाई बलात्कार आरोपमा पक्राउ गरेको थियो तर पीडित हुँ भन्ने युवतीले अवस्थीविरुद्ध किटानी जाहेरी नदिएपछि उनलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले किटानी जाहेरी नपरेपछि युवकलाई आफन्तको जिम्मा लगाइएको बताए ।
प्रहरीकाअनुसार डडेल्धुराकै २० वर्षीया युवती चालक समेत रहेका अवस्थीसँगै उनले चलाउने सुपप्र ०१००१ च ०२०८ नम्बरको तरकारी बोक्ने जिपमा डडेल्धुराबाटै आएकी थिइन् । एउटै जिपमा धनगढी आएका उनीहरु राति धनगढी उपमहानगरपालिका–४ स्थित संजोक होटलमा छुट्टाछुट्टै कोठामा बसेका थिए।
मध्यराति करिब साढे १ बजे युवतीले प्रहरीलाई फोन गरी आफूमाथि जबरजस्तीकरणी भएको दाबी गरेपछि प्रहरी टोली तत्काल होटल पुगेको थियो। त्यसपछि आरोपी चालकलाई नियन्त्रणमा लिइएको थियो।
युवतीले चालकले आफ्नो कोठामा प्रवेश गरि जबरजस्ती गरेको आरोप लगाएकी थिइन् तर युवतीले अवस्थीविरुद्ध किटानी जाहेरी भने नल्याएकी हुुन्।

