

धनगढी । धनगढी उपमहानगरपालिकामा सञ्चालित कक्षा ८ को वार्षिक परीक्षामा यस वर्ष ७०.०३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। उपमहानगरपालिकाले सार्वजनिक गरेको नतिजाअनुसार विगतका वर्षको तुलनामा यस वर्ष उल्लेख्य सुधार देखिएको हो।
उपमहानगरपालिकाका अनुसार अघिल्लो शैक्षिक वर्ष २०८१ मा ६१.५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। त्यसअघि शैक्षिक सत्र २०८० मा ५१.४० प्रतिशत र २०७९ मा ३२.७८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए। यस वर्ष भने सामुदायिक तथा संस्थागत दुवै विद्यालयको नतिजामा उल्लेखनीय सुधार आएको जनाइएको छ।
शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार यस वर्ष धनगढीका सामुदायिक र संस्थागत गरी ११३ विद्यालयका ५ हजार ४ सय २८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये ३ हजार ८ सय १ विद्यार्थी पहिलो चरणमै उत्तीर्ण भएका हुन्।
उपमहानगरपालिकाले परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनलाई व्यवस्थित बनाइएकाले नतिजामा सुधार आएको जनाएको छ। सामुदायिक विद्यालयहरूले समेत यस वर्ष उत्तीर्ण प्रतिशतमा उल्लेख्य वृद्धि गरेका छन्।

