डडेल्धुरादेखि धनगढीको होटलसम्म सँगै, मध्यराति ‘बलात्कार’ आरोपपछि चालक पक्राउ



धनगढी । डडेल्धुराबाट धनगढी आएकी एक युवतीले जिप चालकविरुद्ध जबरजस्तीकरणी (बलात्कार) गरेको आरोप लगाएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ।
आइतबार सुपप्र ०१००१ च ०२०८ नम्बरको तरकारी बोकेको जिपमा डडेल्धुराबाट धनगढी आएकी २० वर्षीया युवतीको मौखिक उजुरीका आधारमा चालक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा अमरगढी नगरपालिका–२ का सुरेश अवस्थी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार युवतीको मौखिक गुनासोका आधारमा अवस्थीलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार युवती अहिलेसम्म अवस्थीविरुद्ध किटानी जाहेरी दिएकी छैनन्। स्रोतकाअनुसार दुवै जना एउटै जिपमा धनगढी आएका थिए र राति धनगढी उपमहानगरपालिका–४ स्थित एक होटलमा छुट्टाछुट्टै कोठामा बसेका थिए।
मध्यराति करिब साढे १ बजे युवतीले प्रहरीलाई फोन गरी आफूमाथि जबरजस्तीकरणी भएको दाबी गरेपछि प्रहरी टोली तत्काल होटल पुगेको थियो। त्यसपछि आरोपी चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
युवतीले चालक आफ्नो कोठामा आएर जबरजस्ती गरेको आरोप लगाएकी छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
