

धनगढी । धनगढीमा आयोजित सञ्चारकर्मीबीचको लुडो प्रतियोगितामा ‘प्रेसपत्र अनलाइन’ काे च्याम्पियन बनेको छ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार सनराइज टेलिभिजनले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रेसपत्र(डट)कमले पहिलो स्थान हासिल गरेको हो।
प्रतियोगितामा विजेता बनेको प्रेसपत्र अनलाइनले नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै ‘न्युज सेभेन टिभी’ द्वितीय हुँदै नगद ५ हजार रुपैयाँ जितेको छ भने ‘बाबा टेलिभिजन’ तृतीय स्थानमा रहँदै नगद २ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र हात पारेको छ।
मनोरञ्जनसँगै सञ्चारकर्मीहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको संयोजक जितेन्द्र रावलले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा रहेका थिए भने निर्णायकको भूमिका दिप श्रेष्ठले निर्वाह गरेका थिए।
सनराइज टेलिभिजनका प्रबन्ध निर्देशक उत्तम थापाका अनुसार यस्ता कार्यक्रमले सञ्चारकर्मीहरूबीच सहकार्य, समन्वय र आत्मीयता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
कार्यक्रम विभिन्न संघ–संस्था तथा व्यवसायहरूको प्रायोजनमा सम्पन्न भएको थियो। सहभागीहरूले यस्ता रचनात्मक कार्यक्रमले पेशागत सम्बन्ध थप बलियो बनाउने बताएका छन्।

