

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक स्थलमा महिलामाथि अश्लील हर्कत गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–९ का २० वर्षीय दिवस सुनार रहेका छन्।
पीडित महिलाको जाहेरीका आधारमा प्रहरीले उनलाई पुतलीबजार–१ क्षेत्रबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार वैशाख २२ गते बिहान करिब ७ बजे उनले महिलालाई मोटरसाइकलमा लिफ्ट दिएका थिए। पछि मलेबगरस्थित एकान्त सडक खण्डमा पुर्याएर फोन नम्बर मागेका थिए। महिलाले अस्वीकार गरेपछि उनले सार्वजनिक रूपमा अशोभनीय व्यवहार गरेको आरोप छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा ले घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

