

भानुमक्त आचार्य, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ले नेपाली कांग्रेसका सभापति गगन थापा सँग भेटवार्ता गरेका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको भेटमा समसामयिक राजनीतिक अवस्था, सत्ता सहकार्य र सुदूरपश्चिम प्रदेशसँग सम्बन्धित विषयमा छलफल भएको बताइएको छ।
मुख्यमन्त्री शाहले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली लाई भक्तपुरस्थित गुण्डुमा भेटेका थिए। ओलीसँग भएको छलफलको सन्देश लिएर नै उनी गगन थापालाई भेट्न पुगेका हुन्।
शाह र थापाबीच करिब ३० मिनेटभन्दा बढी समय संवाद भएको स्रोतले जनाएको छ। भेटमा ओलीको स्वास्थ्य अवस्था, कांग्रेस–एमाले सहकार्य, सुदूरपश्चिम प्रदेशको राजधानी कार्यान्वयनको अवस्था तथा आगामी राजनीतिक कार्यदिशाबारे छलफल भएको थियो।
स्रोतका अनुसार प्रतिपक्षी दलहरू कांग्रेस र नेकपालाई समेत समेटेर सहकार्यको वातावरण बनाउने विषयमा ओली र शाहबीच प्रारम्भिक समझदारी भएको छ।
‘मुख्यमन्त्री शाहले प्रदेशको राजधानी कार्यान्वयनमा देखिएका समस्या र पछिल्लो राजनीतिक संवादबारे सभापतिज्यूलाई जानकारी गराउनुभएको थियो,’ कांग्रेस निकट स्रोतले भन्यो, ‘हिजो ओलीजीसँग भएको छलफलको विषयमा पनि विस्तृत कुरा भयो।’
एमाले अध्यक्ष ओलीले कांग्रेस, एमाले र नेकपाबीच सम्भावित सत्ता सहकार्यका विषयमा मुख्यमन्त्री शाहसँग चासो व्यक्त गरेका थिए। अब उक्त विषयमा गगन थापा र ओलीबीच प्रत्यक्ष संवाद हुने तयारी भइरहेको स्रोतको दाबी छ।
केही दिनभित्र थापा र ओलीबीच भेटवार्ता हुने तथा त्यसपछि सत्ता सहकार्यको मोडालिटीबारे ठोस निर्णय हुन सक्ने बताइएको छ। यता नेकपाले पनि एमालेसँग सहकार्यको संवादलाई अघि बढाइरहेको स्रोतको भनाइ छ। नेपाल प्रेसबाट

