

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत कदमविरुद्ध सडक र सदनबाट प्रतिवाद गर्ने बताएका छन् ।
आइतबार बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमाथि विभिन्न खालका संशय र प्रश्नहरू रहेकाले समर्थन गर्न नसकिने बताए ।
संविधान संशोधन बहसपत्र कार्यदलको काम, विद्यार्थी र कर्मचारी ट्रेड युनियन खारेजी, अध्यादेश लगायतका कारण सरकारको नियत सही नदेखिएको उनले टिप्पणी गरे ।
‘सरकारका पछिल्ला गतिविधिको समर्थन गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘बरु विरोध, प्रतिवाद गर्नुपर्ने, जनताको तहबाट आवाज उठाउनुपर्ने धेरै कुरा छन् । हामी सडक र सदनबाटै प्रतिवाद गर्छौं ।’
उनले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र यसको परिमार्जनको निम्ति आफ्नो ठाउँबाट सरकारले राम्रो काम गर्दा रचनात्मक ढङ्गले सहयोग गर्ने पनि बताए । ‘सुरुमा कयौँ कुरा ठिकै छन् पनि भनेको हो । तर जब सरकारका अनेक गतिविधि अगाडि बढ्न थाले, समर्थन गर्न सकिने केही पनि देखिएन,’ उनले भने ।
पछिल्लो समय देशको राजनीति र सरकार सही ट्र्याकमा नरहेको समेत उनले बताए । ‘आफैँले सदन बोलाउने, आफ्नो दुई–तिहाइ झन्डै छ, नियमित प्रक्रियाबाटै विधेयकहरू ल्याउन सकिन्छ, त्यो बाटो छोडेर सदनलाई छलेर अध्यादेशको बाटो जाने लाजमर्दो कुरा पनि हो,’ प्रचण्डले भने, ‘त्यसको पनि हामीले प्रतिवाद गरिनै राखेका छौँ ।’
सुकुमवासीहरूको समस्या समाधान नहुँदा यसले गम्भीर प्रकृतिको समस्या आउने सक्ने प्रचण्डको ठहर छ ।
फरक प्रसङ्गमा उनले संविधान संशोधनको निम्ति सरकारले तयार पारेको बहस पत्र पनि पारदर्शी तरिकाले अगाडि नआएको बताए । ‘त्यो पनि आफैँमा एउटा गम्भीर छलफलको विषय बनिराख्या छ,’ उनले भने ।
संयोजक प्रचण्डले वाम एकताका लागि पनि छलफल चलिरहेको समेत बताए । नेपालमा कम्युनिस्ट पार्टीहरूको ठूलो जनमत रहेको भन्दै त्यसलाई वाम एकता मार्फत एकत्रित गर्ने बताए ।
‘जनताले देशको स्थिति हेरेर मत परिवर्तन गर्छन्, हिजो नेकपालाई गरे, आज रास्वपा लाई गरे’ उनले भने, ‘यो स्वाभाविक हो । वाम एकताले नै वामपन्थी जनमतलाई एक गर्ने आधारहरू पनि छन् ।’

