

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीका सांसद रामेश्वर चौधरी १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
किसानलाई अनुदानमा पावर टिलर उपलब्ध गराइदिने भन्दै रकम उठाएर ठगी गरेको आरोपमा जिल्ला अदालत बर्दियाले उनीसँग धरौटी माग गरेको थियो। जिल्ला अदालत बर्दियाले वैशाख ३० गते चौधरीलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनले अर्को दिन धरौटी बुझाएपछि रिहा भएका हुन्।
पूर्वमन्त्री चौधरी सुदूरपश्चिम प्रदेश सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारी तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। उनी नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसदसमेत हुन्।
प्रहरीका अनुसार “सुरो नेपाल” नामक संस्थाले बर्दियाको बारबर्दिया गाउँपालिकाका किसानलाई अनुदानमा पावर टिलर ट्र्याक्टर उपलब्ध गराउने आश्वासन दिँदै रकम संकलन गरेको थियो। किसानहरूले संस्थाकी प्रतिनिधि सुशीला खड्का को खातामा ५७ लाख रुपैयाँ जम्मा गरेको तथा पूर्वमन्त्री चौधरीलाई थप १७ लाख रुपैयाँ दिएको आरोप लगाएका छन्।
यस सम्बन्धमा २०८२ भदौ १८ गते जिल्ला प्रहरी कार्यालय बर्दियामा उजुरी दर्ता भएको थियो। अनुसन्धानपछि प्रहरीले २०८३ वैशाख १८ गते चौधरी, खड्कासहित अन्य दुई जनाविरुद्ध जिल्ला अदालत बर्दियामा मुद्दा दायर गरेको थियो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश पार्की का अनुसार अदालतले वैशाख २० गते खड्कासँग र वैशाख ३० गते चौधरीसँग १० लाख रुपैयाँ धरौटी माग गरेको थियो। खड्काले धरौटी बुझाउन नसकेपछि उनी हाल कारागारमै रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार किसानहरूले जम्मा गरेको रकममध्ये केही रकम फिर्ता गरिएको भए पनि बाँकी रकम फिर्ता गर्न आनाकानी भएपछि विवाद चर्किएको हो।
यद्यपि, पूर्वमन्त्री चौधरीले भने आफू निर्दोष रहेको दाबी गरेका छन्। उनले आफूले कसैसँग रकम नलिएको र राजनीतिक प्रतिशोधका कारण फसाइएको बताएका छन्।

