कञ्चनपुरमा होटल तोडफोड गर्नेलाई उन्मुक्ति, कर्मचारी र ग्राहकविरुद्ध मुद्दा

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कञ्चनपुरमा प्रहरीको नयाँ नेतृत्व आएपछि ज्यादती बढ्दै गएको गुनासो उठ्न थालेको छ । महेन्द्रनगरको भाँसीस्थित न्यू रोयल दरबार होटलमा सोमबार मध्यराति भएको घटनापछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमाथि पक्षपातपूर्ण व्यवहार गरेको आरोप लागेको हो ।

होटल सञ्चालक प्रकाश कार्कीका अनुसार राति चार जनाको एक समूह होटल बाहिर आएर तोडफोड गर्न थालेपछि उनले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालयबाट भ्यानसहित पुगेको प्रहरी टोलीले भने होटल तोडफोडमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिनुको सट्टा आफ्नै आँखाअगाडिबाट भाग्न दिएको सीसीटीभी फुटेजमा देखिएको दाबी गरिएको छ ।

तोडफोडमा संलग्न समूहले मोटरसाइकलसमेत होटल बाहिरै छाडेर भागेको बताइएको छ । तर प्रहरीले घटनामा संलग्नलाई पक्राउ नगरी होटलका कर्मचारी र त्यहाँ रहेका ग्राहकलाई नियन्त्रणमा लिएको आरोप छ ।

प्रहरीले होटलका कर्मचारी सन्तोष भण्डारीसहित प्रकाश टेर, हर्कबहादुर चन्द, परमानन्द भट्ट र पवन थापालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये प्रकाश, हर्कबहादुर र परमानन्द होटलभित्र खाजा खाइरहेका ग्राहक रहेको बताइएको छ ।

पवन थापा भने होटल सञ्चालक कार्कीले फोन गरेर बोलाएपछि घटनास्थल पुगेका थिए । होटल बाहिर रोकिएको मोटरसाइकल उनको जस्तै देखिएपछि कार्कीले उनलाई सम्पर्क गरेका थिए । त्यसपछि होटल पुगेका थापालाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनीहरूमाथि अभद्र व्यवहार मुद्दा चलाएको छ । तर, प्रहरीकै अगाडिबाट भागेको भनिएको चार जनाको समूहलाई पक्राउ गर्न भने चासो नदिएको आरोप स्थानीयको छ ।

स्थानीयले यो घटनामा “धान खाने मुसा छुट्ने, भ्यागुतो समातिने” अवस्था देखिएको टिप्पणी गरेका छन् । होटल तोडफोड गर्ने समूहलाई उन्मुक्ति दिएर होटलका कर्मचारी र ग्राहकलाई पक्राउ गर्नु प्रहरीको कमजोरी भएको उनीहरूको भनाइ छ ।

यस घटनाभन्दा केही दिनअघि पनि महेन्द्रनगर बजारस्थित ग्रान्ड प्यासेफिक होटलमा एक समूहले प्रवेश गरी सञ्चालकमाथि कुटपिट गरेको घटना भएको थियो । तर, उक्त घटनामा संलग्न व्यक्तिहरूलाई पनि प्रहरीले अहिलेसम्म पक्राउ गर्न नसकेको गुनासो छ ।

यता, कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरी ले भने मध्यराति न्यू रोयल दरबार होटलमा मदिरा सेवन गरेका दुई समूहबीच झगडा भएपछि प्रहरी पुगेको बताएका छन् ।

उनका अनुसार एक समूहलाई नियन्त्रणमा लिइएको र अर्को समूह फरार भएकाले खोजी भइरहेको छ । निर्दोष व्यक्तिलाई पक्राउ गरिएको भन्ने आरोप गलत भएको दाबी गर्दै एसपी गिरीले रातिको समयमा मदिरा सेवन गरी झैझगडा गर्ने व्यक्तिमाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको बताए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...