


काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले व्यक्त गरेको धारणा रेकर्डबाट हटाउन माग गरेको छ । एमालेका प्रमुख सचेतक ऐन महरले सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली २०७९ विपरीत बोलेकाले हटाउन माग गरेका हुन्।
सभामुख अर्यालले नै प्रतिनिधिसभा नियमावलीको गलत व्याख्या गरेको उनको भनाइ छ। प्रधानमन्त्रीले आकस्मिक रूपमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन होस् भन्ने चाहेकामा विपक्षी दलहरूले नियमावलीको विषय उठाएपछि सभामुख अर्यालले नियमावलीको कुनै नियममा पनि १५ जनाले प्रश्न सोध्न पाउने भन्ने लिखित रूपमा छैन भन्ने धारणा व्यक्त गरेका थिए।
सभामुख अर्यालको उक्त भनाइ नियमावलीको नियम ५६ को उपनियम ५ विपरीत रहेको महरले बताए ।
उपनियममा लेखिएको छ, ‘यस नियम अन्तर्गत प्रश्न गर्दा एक दिनको बैठकमा बढीमा पन्ध्र जना सदस्यले मात्र प्रश्न सोध्न सक्नेछन्। एउटा सदस्यले सोधेको प्रश्नको जवाफ दिइसकेपछि क्रमशः अर्को प्रश्नकर्ता सदस्यको नाम बोलाइनेछ ।’
त्यसअघि सभामुख अर्यालले भनेका थिए, ‘मैले फेरि माननीय सदस्यहरूलाई ध्यानाकर्षण गराएँ । नियमावलीको कुनै नियममा पनि १५ जनाले प्रश्न सोध्न पाउने भन्ने लिखित रूपमा छैन।’

