अमेरिकी उपविदेशमन्त्रीले भनिन् – नेपाल कसैको उपनिवेश नबनेको थाहा पाउँदा रोचक लाग्यो

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स ले नेपाललाई अमेरिका एक महत्वपूर्ण र विश्वासिलो साझेदारका रूपमा हेर्ने बताएकी छन्।

तीनदिने नेपाल भ्रमणका क्रममा सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालसँग आर्थिक, प्रविधि तथा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउन अमेरिका प्रतिबद्ध रहेको बताइन्। परराष्ट्रमन्त्री र सञ्चारमन्त्रीसँगको भेट फलदायी भएको उल्लेख गर्दै उनले डिजिटल पहुँच विस्तार, लगानी प्रवर्द्धन र व्यावसायिक वातावरण सुधारमा सहकार्य बढाइने धारणा राखिन्।

प्रविधि र लगानीमा जोड

नेपालमा नवप्रवर्तन तथा प्रविधि क्षेत्रको ठूलो सम्भावना रहेको बताउँदै रोजर्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डाटा सेन्टरजस्ता क्षेत्रमा लगानीका अवसर रहेको उल्लेख गरिन्। नेपालमा स्टारलिंक सेवा विस्तारबारे सोधिएको प्रश्नमा उनले त्यसबारे निर्णय नेपाल सरकार र सम्बन्धित कम्पनीको विषय भएको भन्दै नेपालको सार्वभौम निर्णयको सम्मान गर्ने बताइन्।

एमसीसी नेपालको ऊर्जा भविष्यसँग जोडिएको परियोजना

रोजर्सले ५५ करोड अमेरिकी डलरको एमसीसी परियोजना नेपालको ऊर्जा र आर्थिक विकासका लागि महत्वपूर्ण रहेको बताइन्। परियोजना कार्यान्वयनमा नेपाल सरकारले प्राथमिकता दिनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।

उनले अमेरिकी वैदेशिक सहायताको ढाँचामा परिवर्तन आएको जानकारी दिँदै अब अमेरिका परम्परागत सहायता भन्दा साझेदारी र व्यापारमा केन्द्रित भएको बताइन्। एमसीसीलाई ‘वास्तविक साझेदारी’ को उदाहरण उल्लेख गर्दै नेपालले पनि परियोजनामा ठूलो लगानी गरेको स्मरण गराइन्।

वाक् स्वतन्त्रता र सामाजिक सञ्जाल नियमन

वाक् स्वतन्त्रता लोकतान्त्रिक समाजको आधार भएको उल्लेख गर्दै रोजर्सले इन्टरनेट सेन्सरसिपप्रति असहमति जनाइन्। सरकारहरूले नागरिकले के हेर्ने वा के सोच्ने भन्ने निर्णय गर्न नहुने उनको धारणा थियो।

यद्यपि, ठगी, बाल यौन दुर्व्यवहारजस्ता अपराध नियन्त्रणका लागि आवश्यक कानुनी नियमन गर्न सकिने उनले स्पष्ट पारिन्। गलत सूचना तथा डिपफेक नियन्त्रणमा आर्टिफिसियल इन्टेलिजेन्स प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ थियो।

भूराजनीतिक प्रतिस्पर्धामा टिप्पणी गर्न अस्वीकार

नेपालमा अमेरिका, चीन र भारतबीचको प्रभाव विस्तारको प्रतिस्पर्धाबारे सोधिएको प्रश्नमा रोजर्सले अमेरिकाको प्राथमिकता नेपालसँगको द्विपक्षीय सम्बन्ध रहेको बताइन्। उनले नेपालको स्वतन्त्र इतिहासको प्रशंसा गर्दै नेपालले आफ्नो सार्वभौमिकता जोगाएर राखेको उल्लेख गरिन्।

पर्यटन र सांस्कृतिक सम्बन्ध पनि सुदृढ

रोजर्सले नेपाल–अमेरिका सम्बन्ध केवल राजनीतिक वा आर्थिक साझेदारीमा सीमित नभई पर्यटन, संस्कृति र जनस्तरको सम्बन्धमा पनि आधारित रहेको बताइन्। सन् २०२५ मा १ लाख १२ हजार अमेरिकी पर्यटक नेपाल आएको उल्लेख गर्दै उनले यसलाई दुई देशबीचको सम्बन्धको बलियो आधारका रूपमा चित्रित गरिन्।

अमेरिकी सहयोगमा भइरहेको पाटन दरबार क्षेत्रको सम्पदा पुनर्निर्माणको अवलोकनपछि उनले नेपाली कला, संस्कृति र शिल्प परम्पराको प्रशंसा गरिन्।

नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७९ वर्ष पूरा भएको स्मरण गर्दै रोजर्सले आगामी वर्ष मनाइने ८०औँ वार्षिकोत्सवसँगै दुई देशबीचको सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरिन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...