


धनगढी । सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमबीच मुख्यमन्त्री तथा दलका नेता कमलबहादुर शाहले संसदीय दलको बैठक आह्वान गरेका छन्।
शाहविरुद्ध दलको नेताबाट हटाउन माग गर्दै अविश्वास प्रस्ताव दर्ता भएको भोलिपल्ट उनले बुधबार दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका हुन्। बैठकको एजेन्डा सार्वजनिक गरिएको छैन।
शाहलाई संसदीय दलको नेताबाट हटाउनुपर्ने मागसहित ९ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। तर प्रस्तावमा हस्ताक्षर गरेकी सांसद डम्मरी महराले पार्टी एकता र प्रदेश सरकारको बजेटलाई ध्यानमा राख्दै आफ्नो हस्ताक्षर फिर्ता लिएको घोषणा गरेपछि शक्ति सन्तुलन शाहको पक्षमा देखिएको छ।
१८ सदस्यीय कांग्रेस संसदीय दलमा महराको निर्णयपछि शाहको पक्षमा ९ र विपक्षमा ८ सांसद रहेका छन्। अर्का सांसद प्रकाश देउवा भने हाल अमेरिकामा छन्।
यसबीच मुख्यमन्त्रीले बैठक बोलाएपछि अविश्वास प्रस्तावको पक्षमा रहेका सांसदहरू बैठकमा सहभागी हुने वा नहुने भन्ने विषय चासोको केन्द्र बनेको छ। शाहविरुद्ध उभिएका एक सांसदले बैठकको सूचना प्राप्त भएको पुष्टि गर्दै सहभागिताबारे आन्तरिक छलफल भइरहेको बताए। उनका अनुसार सामूहिक रणनीति तय गरेपछि मात्रै बैठकमा उपस्थित हुने वा नहुने निर्णय गरिनेछ।
उता, शाहविरुद्धको अभियानको नेतृत्व गरिरहेका सांसद दिवानसिंह विष्टले संसदीय दलको विधानअनुसार नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा जानुपर्ने अडान दोहोर्याएका छन्।

