प्रेमीसँग मिलेर पतिको हत्या गरेको आरोपमा युवती पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

बाग्लुङमा ६२ वर्षीय पुरुषको हत्या आरोपमा उनकी २६ वर्षीया पत्नी र उनका प्रेमीसहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार पक्राउ पर्नेमा तनहुँको म्याग्दे गाउँपालिका–७ की २६ वर्षीया लक्ष्मी नेपाली, ३८ वर्षीय राम आकाश विश्वकर्मा र आसपुरे कामी रहेका छन्। उनीहरूमाथि ६२ वर्षीय देउबहादुर सार्कीको हत्या गरेको आरोप छ।

जिल्ला प्रहरी प्रमुख एसपी फणीन्द्र प्रसाईका अनुसार देउबहादुर र लक्ष्मीबीच लामो समयदेखि विवाद हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मजदुरी गर्ने क्रममा लक्ष्मी र राम आकाशबीच निकटता बढेको विषयलाई लिएर देउबहादुरले असन्तुष्टि जनाउँदै आएका थिए।

प्रहरीका अनुसार सोमबार काममा जाने क्रममा उकालो चढेपछि उनीहरू एक प्रतीक्षालयमा विश्राम गरिरहेका थिए। सोही क्रममा देउबहादुर र लक्ष्मीबीच भनाभन भएको र त्यसपछि विवाद चर्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

अनुसन्धानका क्रममा राम आकाशले देउबहादुरमाथि मुक्का प्रहार गरेका तथा त्यसपछि लक्ष्मी र आसपुरे कामीले ढुंगाले आक्रमण गरेको खुलेको प्रहरीले जनाएको छ। आक्रमणपछि देउबहादुर अचेत भएका थिए।

घटनापछि तीनै जना पर्वततर्फ भाग्न खोजेको अवस्थामा प्रहरीले चेकपोस्टमा शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो। चेकजाँचका क्रममा उनीहरूको लुगामा रगत देखिएपछि थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।

एसपी प्रसाईका अनुसार पक्राउ परेकाहरूले विवादका क्रममा ढुंगा प्रहार गरेको स्वीकार गरेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लक्ष्मीले यसअघि पनि दुई पटक विवाह गरेको र ती सम्बन्धबाट सन्तानसमेत रहेको खुलेको छ। यद्यपि, उक्त विवरण घटनाको अनुसन्धानसँग प्रत्यक्ष रूपमा सम्बन्धित नभएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...