विद्यालयको होस्टेलमा हरर फिल्म हेरेकी बालिकामा गम्भीर स्वास्थ्य समस्या, छानबिन गर्दै प्रहरी

cp new add
Nisharg hospital

काठमाडौं । बुढानीलकण्ठ स्कुलमा अध्ययनरत एक बालिकामाथि मानसिक दुर्व्यवहारको आरोपलाई लिएर प्रहरीले अनुसन्धान जारी राखेको छ । घटनाको प्रमाण बुझ्ने र सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गर्ने काम भइरहेको प्रहरीको भनाइ छ ।

Telecome

जिल्ला प्रहरी परिसर, भद्रकालीका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार उक्त स्कुलसँग सम्बन्धित घटनाका विषयमा प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दर्ता भएको थियो । उक्त जाहेरीका आधारमा उल्लेखित घटनासँग संलग्न व्यक्तिको बयान र प्रमाणहरू संकलनका काम भइरहेको उनले बताए । तर, हालसम्म कोही पनि पक्राउ नपरेको उनको भनाइ छ ।

‘बालबालिकासँग सम्बन्धित कसुर भएकाले पीडित र कसुरदार दुवैको स्थिति संवेदनशील हुन्छ, यसमा प्रहरीले गहिरो अनुसन्धानपछि आवश्यक कदम चाल्छ’, उनले भने ।

जाहेरीमा उल्लेखित आरोपी साँच्चै नै कसुरदार हुन्, होइनन् भन्ने कोणबाट अनुसन्धान भइरहेको उनले बताए । कानुन र प्रमाणले कसुरलाई पुष्टि गरेपछि थप प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ ।

घटना के हो ?

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका( ५ मा अवस्थित बुढानीलकण्ठ स्कुलको शैक्षिक शत्र २०८० मा कक्षा ५ मा भर्ना भएकी एक बालिका हाल जटिल स्वास्थ्य समस्याबाट गुज्रिएकी छन् । उनीमाथि विद्यालयभित्र मानसिक र शारीरिक यातना दिइएको आरोप छ ।

बालिकाकी आमाले प्रहरी वृत्त महाराजगञ्जमा वैशाख ९ गते जाहेरी दिएकी थिइन् । प्रारम्भिक अनुसन्धानपछि जाहेरी दर्ता भएर हालसम्म अनुसन्धान जारी रहेको एसपी भट्टराईले बताए ।

स्कुलकै छात्रावासमा आफूभन्दा बढी उमेरका विद्यार्थीले भूतको फिल्म देखाएपछि बालिका मानसिक रूपमा विक्षिप्त भएको जाहेरीमा उल्लेख छ । त्यस्तो स्थितिको विद्यार्थीलाई मानसिक रूपमा बलियो बनाउनुपर्नेमा स्कुलका शिक्षिकाहरूले नै दुर्व्यवहार गरेको आरोप बालिकाकी आमाले लगाएकी छन् । यसबारे पूर्ववर्ती सुशीला कार्की सरकारमा शिक्षा मन्त्री तथा हाल विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री रहेका महावीर पुनसमक्ष उजुरी गर्दा उनले बेवास्ता गरेको परिवारको भनाइ छ ।

जाहेरीअनुसार विद्यालयका दुई शिक्षिकाले बालिकालाई मानसिक तथा शारीरिक हिंसा गरेका थिए । कान्ति बाल अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणपछि त्यहाँकी चिकित्सक दीपिका खड्काले निज बालिकालाई अचानक बेहोस हुने, शरीरका केही अंग नचल्ने र मानसिक सन्तुलन स्थिर नहुनेजस्ता समस्या आएको रिपोर्ट दिएकी थिइन् । उक्त समस्यालाई चिकित्सकीय भाषामा ‘डिस्सोसिएटिभ डिसअर्ड’ वा ‘कन्भर्जन डिसअर्डर’ भनिने अस्पतालको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तो समस्या हुने व्यक्तिमा अस्वाभाविक गतिविधि महसुस हुने, डर, तनाव हुने, पीडादायी लक्षण देखिने, अचानक बेहोस हुने गर्दछ । ती बालिकामा ती सबै स्थिति देखिएको अस्पतालले निष्कर्ष निकालेको छ । परिवारले जाहेरीका साथमा उक्त रिपोर्ट पनि पेश गरेको थियो ।

एक शिक्षिकाले कोठाभित्र थुनेर बालिकालाई कुटपिट गरेको र मानसिक यातना दिएको जाहेरीमा उल्लेख छ । पीडितका अभिभावकले मंसिर ९ गते राष्ट्रिय बाल अधिकार परिषदमा यससम्बन्धी उजुरी दिएका थिए । परिवारले बालिकालाई अर्को स्कुलमा भर्ना गरेको थियो । तर, फेरि पनि उनमा बेहोस हुने, अंग नचल्ने, बोल्न नसक्ने जस्ता मानसिक विक्षिप्तता आइरहेको जाहेरीमा उल्लेख छ ।

जाहेरीमा उल्लेखित विषयमा आवश्यक प्रमाण संकलन भइरहेको र आरोपित पक्षसँग निरन्तर सोधपुछ जारी रहेको प्रहरीले बताएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...