
कञ्चनपुरको बेलौरी नगरपालिकामा खोलामा आएको एक्कासी बाढीले बगाएकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन्।

बेलौरी नगरपालिका–९ निवासी अन्दाजी १५ वर्षीया गरिमा तिरुवा बिहीबार साँझ बेपत्ता भएकी थिइन्। उनको शव शुक्रबार बिहान घटनास्थलबाट करिब ५ सय मिटर तल बेलौरी–रतनपुर नाला क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीका अनुसार गरिमा स्थानीय प्रेम महरको खेतमा रोपाइँ सकेपछि दिदीबहिनीसहित ६–७ जनाको समूहमा नजिकैको झरना खोलामा नुहाउन गएकी थिइन्। सोही क्रममा एक्कासी खोलामा पानीको बहाव बढेपछि उनी बगेर बेपत्ता भएकी हुन्।
गरिमासँगै रहेका दुई जना खोलाको बीचतिर पौडी खेल्न गएका थिए। गरिमालाई पौडी खेल्न नआउने भएकाले उनी बाढीको बहावमा परेकी थिइन्। उनीसँगै रहेका प्रियंका, स्मृतिलगायत साथीहरूले बचाउने प्रयास गरे पनि सफल हुन सकेनन्।
घटनापछि उनीहरूले तत्काल परिवार, स्थानीयवासी र प्रहरीलाई खबर गरेका थिए। त्यसलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले बिहीबार रातिसम्म खोजी गरेका थिए। राति खोजी स्थगित गरी शुक्रबार बिहान पुनः खोजी सुरु गरिएको थियो।
इलाका प्रहरी कार्यालय बेलडाँडी, सशस्त्र प्रहरी बलका भुडा र पचुईस्थित बीओपीबाट विपद् उद्धार तालिम प्राप्त सुरक्षाकर्मीसहित करिब ३० जनाको टोली र स्थानीयवासीले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए। खोजीकै क्रममा शुक्रबार बिहान गरिमाको शव फेला परेको प्रहरीले जनाएको छ।

