
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले नेपालको विकासका लागि विदेशी मोडेलको अनुकरण गर्न नहुने बताएका छन् ।

‘चिनियाँ कम्युनिष्ट पार्टीको १०५ वर्षः ऐतिहासिक अनुभव र नेपालको विकास’ सम्बन्धी विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता शाहीले विकास बाहिरबाट आयात गर्ने विषय नभएको बताएका हुन् । उनले नेपाली माटो र यथार्थमा आधारित मौलिक मार्ग अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
उनले अन्य देशमा सफल भएको विकासको मोडेल नेपालको भौगोलिक र सामाजिक परिवेशमा हुबहु लागू हुन नसक्ने उल्लेख गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर विकासको नेपाली मार्ग निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे । नेपालको वर्तमान समस्या सम्भावनाको अभाव नभई कार्यान्वयनको कमजोरी रहेको उनको तर्क छ ।

