
टीकापुर । कैलालीको टीकापुर नगरपालिका–५ स्थित पार्क क्षेत्र नजिक कर्णाली नदीले पुनः तीव्र कटान सुरु गरेपछि वडा नं. ५, ६, ७ र ८ उच्च जोखिममा परेका छन् । कटानका कारण पार्क, बस्ती, कृषि योग्य जमिन तथा सार्वजनिक पूर्वाधारमा क्षति पुग्न सक्ने भन्दै स्थानीयवासीले तत्काल प्रभावकारी संरक्षणको माग गरेका छन्।

स्थानीयका अनुसार तीन महिनाअघि नै सम्भावित जोखिमबारे सम्बन्धित निकायलाई जानकारी गराइएपछि करिब दुई करोड रुपैयाँको लागतमा ठूला ढुंगा प्रयोग गरी तटबन्ध निर्माण गरिएको थियो। तर निर्माण कार्य गुणस्तरीय नभएको र नदीको बहाव तथा भू–बनोटअनुसार दिगो संरचना निर्माण नगरिएकाले पुनः कटान सुरु भएको स्थानीयको गुनासो छ।
स्थानीयले निर्माणको गुणस्तर र प्राविधिक मापदण्डबारे निष्पक्ष छानबिन गर्न तथा दीर्घकालीन नदी नियन्त्रण योजना तत्काल कार्यान्वयन गर्न रानी–जमरा–कुलरिया सिंचाइ आयोजना, स्थानीय सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन्।

