श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान फरार

cp new add
Nisharg hospital

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पिपलडाँडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुने स्थानीय मिना राना रहेको प्रहरीले जनाएको छ । घटनापछि उनका श्रीमान मिनबहादुर भण्डारी फरार छन् ।

Nast Ad

स्थानीयका अनुसार माइत गएकी मिनालाई मिनबहादुरले मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका–७ पौवास्थित ससुरालीबाट घर ल्याएका थिए । दुवैले प्राय: मादक पदार्थ सेवन गर्ने गरेको र मंगलबार साँझ पनि सँगै मदिरा सेवन गरेको स्थानीय बताउँछन् ।

वडा सदस्य रवि खत्रीका अनुसार मदिराको नशामा सामान्य विवाद भएपछि मिनबहादुरले मुक्काले टाउकोमा प्रहार गरेका थिए । प्रारम्भिक अनुसन्धानका आधारमा सोही चोटका कारण मिनाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

बुधबार बिहान स्थानीयले मिनालाई घरमा मृत अवस्थामा फेला पारेका थिए । मृतकको टाउको र घुँडामा चोट तथा निलडाम देखिएको भए पनि घटनास्थलमा कुनै धारिलो हतियार प्रयोग भएको संकेत नदेखिएको स्थानीयले बताएका छन् ।

घटनापछि फरार रहेका मिनबहादुरको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार ठूलो झगडाभन्दा पनि मदिराको नशामा भएको कुटपिटका क्रममा घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेसी शाहले महिला मृत अवस्थामा भेटिएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिए ।

उनका अनुसार शवको पोस्टमार्टम प्रतिवेदन तथा थप अनुसन्धानपछि घटनाको विस्तृत विवरण सार्वजनिक गरिनेछ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...