
कृष्ण, बैतडी । बैतडीको पाटन नगरपालिका–५ स्याडीखोलामा शनिबार अपराह्न बेवारिसे अवस्थामा भेटिएको शवको पहिचान भएको छ।

प्रहरीका अनुसार खोलाको किनारमा फेला परेको शव सोही वडाको सिमपानीकी ६२ वर्षीया लालमती कोलीको रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । लालमतीको साउन ५ गते बिहान घरमै मृत्यु भएको थियो।
आफन्तलाई खबर गर्न र अन्त्येष्टिको तयारी गर्न केही समय लागेपछि दिउँसो उनको शव नजिकैको खैरखेत घाट लगिएको थियो। तर अन्तिम संस्कारका लागि आवश्यक जनशक्ति जुट्न नसकेपछि शव जलाउन सम्भव भएन। अन्ततः सामान्य दागबत्ती दिएर शव गाडियो।
केही दिनपछि आएको वर्षासँगै खोलामा आएको बाढीले त्यही शव बगाएर स्याडीखोलासम्म पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ। मृतकका आफन्त नरेश कोलीका अनुसार गाउँमा कोली समुदायका थोरै घरधुरी मात्रै छन्। कामका सिलसिलामा धेरै पुरुष भारतमा रहेका कारण अन्त्येष्टिमा सहभागी हुने मान्छे नै पर्याप्त थिएनन्।
शव बोक्ने चार जना मात्रै भएकाले दाउरा संकलन गर्ने र चिता तयार गर्ने जनशक्ति जुटाउन नसकिएको उनले बताए। त्यही बाध्यताका कारण शवलाई सामान्य दागबत्ती दिएर गाड्नुपरेको उनको भनाइ छ । उनका अनुसार लोकेन्द्र, रोशन, दिनेश र नरेन्द्र कोली मात्रै शव बोक्नमा रहेका थिए ।
“हाम्रो गाउमा कोली परिवा ८/९/ बस्छौं, यी मध्येपनी कोहि भारतमा छन् , शव बोक्ने हामी चार जना मात्रै थियौं, जलाउनको लागि दाउरा खोज्ने र बनाउने मान्छे पुगेनौ, सामान्य दागबत्ती दिएर गाडेका थियौं,” नरेशले भने ।
अन्य समुदायका परिवारले हाम्रो परिवारको शवलाई लाग्ने(छुने) चलन नरहेको नरेश बताउछन् । नजिकैका गाउमा छेत्री समुदाय मात्रै नभई दलित परिवारको लुहार, ओड परिवारको बस्ती पनि छ, तर एकअर्काको मलामी जाने चलन नरहेको नरेशले बताए ।
“हामी पनि एक अर्काको मलामी जादैनौ, उनिहरु पनि आउदैनन, पहिलेदेखि यसै चल्या छ,” नरेश भन्छन् । त्यस क्षेत्रमा दलित समुदायका परिवारको पनि बसोबास गर्ने गरेको तर एक अर्काको मलामी जाने चलन भित्रभित्रै नरहेको वडा न ५ का वडा अध्यक्ष फुनि सिंह बोहरा बताउछन् ।
“त्यस क्षेत्रमा दिलत तथा गैर दलित थुप्रै बस्छन, एकार्काको जादैनन,” बोहरा भन्छन् । लालमतिको शवलाई खोला किनारमा पुनः गाडिएको प्रहरीले जनाएको छ । यस घटनाले बैतडीका केही बस्तीमा अझै पनि जातीय र उपजातीय विभेद सामाजिक व्यवहारमै जीवित रहेको संकेत गरेको छ।
एउटा परिवारले अन्त्येष्टि गर्नसमेत आवश्यक सहयोग नपाउँदा शव गाड्न बाध्य हुनुपरेको र त्यसपछि बाढीले शव बगाएर खोलामा पुर्याएको घटनाले सामाजिक चेतना र मानवीय संवेदनामाथि गम्भीर प्रश्न उठाएको छ।

