
कैलाली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकार गठन भएको तीन दिन बितिसक्दा पनि नेकपाले आफ्ना मन्त्रीहरूको टुंगो लगाउन सकेको छैन। मन्त्री चयनमा भइरहेको ढिलाइबीच डोटीबाट निर्वाचित प्रदेश सभा सदस्य शिवसिंह ओली भने मन्त्री नबन्दै बधाईको ओइरोमा परेका छन्।

नेकपा संसदीय दलका नेता खगराज भट्ट शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए। सोही दिन एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भए पनि सत्ता गठबन्धनको भागबन्डाअनुसार नेकपाले पाउने तीन मन्त्री र दुई राज्यमन्त्रीको जिम्मेवारी अझै टुंगो लागेको छैन।
यही अन्योलबीच आइतबार दिउँसोदेखि सामाजिक सञ्जालमा शिवसिंह ओलीलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरिएको भन्दै बधाई दिन थालियो। सोमबार बिहानसम्म सयौँ शुभचिन्तक, आफन्त तथा राजनीतिकर्मीले फोन र सामाजिक सञ्जालमार्फत उनलाई बधाई दिएका छन्।
‘कोही फोनमा, कोही फेसबुकबाट बधाई दिइरहनुभएको छ। अब कतिलाई म मन्त्री भएको छैन भनेर भनूँ रु’ ओलीले आइतबार साँझ हैरानी व्यक्त गरेका थिए।
बधाई दिनेमा सामान्य कार्यकर्ता मात्र छैनन्। प्रदेश सभा सदस्यदेखि स्थानीय तहका पूर्वजनप्रतिनिधिसम्मले उनलाई मन्त्री बनेको भन्दै शुभकामना दिएका छन्। कांग्रेस प्रदेश सभा सदस्य ललिता सुनारले समेत ओलीको तस्बिर सार्वजनिक गर्दै उनलाई भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी पाएको भन्दै बधाई दिएकी थिइन्।
मन्त्री नबन्दै बधाईको ओइरो लागेपछि स्वयं ओलीले सामाजिक सञ्जालमार्फत त्यसको खण्डन गरेका छन्। उनले नेकपाबाट प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम र जिम्मेवारीबारे पार्टीभित्र अझै छलफल चलिरहेको र कुनै टुंगो नलागेको बताएका छन्।
यसअघि सुदूरपश्चिम प्रदेशमा चार वर्षको अवधिमा दुईतिहाइभन्दा बढी प्रदेश सभा सदस्य मन्त्री बनिसकेका छन्। साविक नागरिक उन्मुक्ति पार्टीका सबै र साविक नेकपा एकीकृत समाजवादीका प्रकाश रावल बाहेक अधिकांश सांसदले मन्त्री बन्ने अवसर पाइसकेका छन्।
साविक नेकपा माओवादी केन्द्रतर्फ पनि शिवसिंह ओलीसहित केही सांसद मात्र मन्त्री बन्न बाँकी छन्। सभामुखसहित ११ जना सांसद रहेको तत्कालीन माओवादीबाट ओली, दार्चुलाका मानबहादुर धामी र कैलालीकी जानकी पौडेल कुँवरले मन्त्री बन्ने अवसर पाएका छैनन्।
अहिले मन्त्री नभएकालाई प्राथमिकता दिनुपर्ने माग नेकपाभित्र उठेको छ। तर मन्त्री छनोटको स्पष्ट मापदण्ड तयार नहुँदा आकांक्षी व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।
साविक माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबाट एक–एक जना मन्त्री बनाउने समझदारी रहे पनि आकांक्षी धेरै भएपछि नाम टुंग्याउन नेकपाले थप समय लिने देखिएको छ।
यसरी, मन्त्रीको नाम नै टुंगो नलाग्दै शिवसिंह ओलीलाई भौतिक पूर्वाधार मन्त्रीको बधाई आउनु अहिले सुदूरपश्चिमको राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ।

