महिला तथा पैदलयात्रीलाई निशाना बनाएर सुन लुट्ने डरलाग्दो गिरोह पक्राउ

cp new add
Nisharg hospital

काठमाण्डौँ । भक्तपुरको लोकन्थलीमा महिला तथा पैदलयात्रीलाई निशाना बनाएर सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । यो समूहमा मोटरसाइकल चालक, सिक्री तान्ने व्यक्ति तथा चोरीको सुन खरिद गर्नेसम्मका आरोपी छन् । प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेकाहरूको संलग्नता सुनसरीको धरान र इटहरीमा भएका सिक्री लुटपाटका घटनासँग समेत जोडिएको छ ।

Nast Ad

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ३२ वर्षीय योगेन्द्र तामाङ, रामेछापको दोरम्बा गाउँपालिका–२ ढोईगाउँ घर भई हाल काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्ने ३६ वर्षीय काले भन्ने देवेन्द्र थापा मगर छन् । यस्तै पक्राउ पर्ने अन्यमा भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ मालबासे घर भई हाल काठमाडौं महानगरपालिका–१८ नरदेवी बस्ने ४० वर्षीय मिलन विक र भारतको पश्चिम बंगाल, कलकत्ता घर भई हाल काठमाडौं महानगरपालिका–१८ भेडासिंह बस्ने ४० वर्षीय संजित साम्नत छन् ।

प्रहरीका अनुसार योगेन्द्र तामाङ मोटरसाइकल चालक र देवेन्द्र थापा मगर सिक्री तान्ने व्यक्ति हुन् । मिलन विक र संजित साम्नत भने लुटिएको सुन खरिद गर्ने व्यक्तिका रूपमा अनुसन्धानमा खुलेका छन् । गत असार २६ गते दिउँसो करिब १ बजेर ५५ मिनेटमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित बिग मार्ट नजिक पहिलो घटना भएको थियो । मोटरसाइकलमा आएका दुई जनाले पैदल हिँडिरहेकी महिलाको घाँटीमा लगाएको सुनको सिक्री जबर्जस्ती तानेर फरार भएका थिए ।

त्यसको चार दिनपछि असार ३० गते बिहान करिब ९ बजे लोकन्थली हनुमान चोकमा पनि यस्तै घटना भएको थियो । मोटरसाइकलमा आएका दुई जनाले पैदल हिँडिरहेका व्यक्तिलाई निशाना बनाएर घाँटीमा लगाएको सुनको सिक्री तानेर फरार भएका थिए ।

लगातार दुईवटा घटना भएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा घटनास्थल तथा आसपासका क्षेत्रमा जडान गरिएका सीसीटीभी फुटेजलगायतका आधारमा संलग्न व्यक्तिको खोजी गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा भक्तपुरमा भएका घटनासँग मिल्दोजुल्दो प्रकृतिका थप दुईवटा सिक्री लुटपाटका घटना सुनसरीमा समेत भएको खुलेको प्रहरीको भनाइ छ । गत साउन २२ गते दिउँसो करिब २ बजेर १८ मिनेटमा सुनसरीको धरान उपमहानगरपालिका–१५ पाथीभारा लाइनमा पैदलयात्रीको करिब साढे दुई तोला सुनको सिक्री लुटिएको थियो ।

त्यसैगरी, साउन ३१ मा बिहान करिब ५ बजेर २० मिनेटमा सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा पैदलयात्रीको तीन तोला सुनको सिक्री लुटिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले यी दुवै घटनामा पनि पक्राउ परेका व्यक्तिहरूकै संलग्नता रहेको दाबी गरेको छ । यसैबीच, पक्राउ परेका योगेन्द्र तामाङको विगतमा समेत डाँका चोरीसम्बन्धी मुद्दा रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङ यसअघि दुई पटक डाँका चोरीसम्बन्धी मुद्दामा पक्राउ परी कारागार चलान भएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घटनामा मोटरसाइकल प्रयोग गरी पैदलयात्रीलाई पछ्याउने, मौका हेरेर सिक्री तान्ने र त्यसपछि फरार हुने गरिएको थियो । यो गिरोहको अन्य घटनामा संलग्नता भए–नभएको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...