
रुकुम । ‘हेल्लो ! प्रचण्ड बाजे, कता हुनुहुन्छ ? हाम्रो यहाँ पूर्व रुकुमबाट चुनाव जितेर मात्रै जानुभो, यहाँ पुलको हाल हेर्नुस् यस्तो छ , भाँच्चिएर हामी खोलाबाट तरेर जानुपर्छ । गाईबाछा र मान्छेलाई पनि बगाउन सक्छ । साना बच्चाहरू स्कुल आवतजावत गर्दा झन् जोखिम छ ।

त्यसैले यहाँ पुल बनाइदिनुपर्यो,’ भत्किएको पुल देखाउँदै कक्षा १०मा अध्ययन गर्ने रुकुम पूर्वकी १५ वर्षीया सदीक्षा ओलीले पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गरेर बनाएको यो भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ । आइतबार साँझ फेसबुकमा पोस्ट गरिएको उक्त भिडियो १३ लाखभन्दा बढी पटक हेरिएको छ भने एक लाखभन्दा बढीले प्रतिक्रिया जनाएका छन् ।
रुकुम पूर्वको भूमे गाउँपालिका–९ चुनबाङस्थित दोमै खोलाको पुल दुई महिनाअघि भत्किएको थियो । यो पुल स्थानीय बासिन्दाका लागि वडा कार्यालय, विद्यालय र सदरमुकाम जाने मुख्य बाटो हो । पुल नहुँदा विशेषगरी बर्खाको समयमा खोलामा पानीको बहाव बढ्दा स्कुले बालबालिका र गाईवस्तुलाई जोखिम बढेको छ । विद्यालय जान दिनहुँ यही बाटो प्रयोग गर्ने सदीक्षाले कुनै अप्रिय घटना हुनुअघि नै सम्बन्धित निकायको ध्यानाकर्षण गराउन भिडियो बनाएकी हुन् ।
भूमे गाउँपालिका–९ की सदीक्षा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, गैरीगाउँमा कक्षा १० मा अध्ययनरत छिन् । उनी गाउँबाट करिब एक घण्टा पैदल हिँडेर विद्यालय पुग्छिन् । सदीक्षाले ‘सदीक्षा भिजुल्स’ नामको फेसबुक पेजमार्फत गाउँका मौलिक दृश्य र समस्याहरूलाई सार्वजनिक गर्दै आएकी छिन् ।
भिडियो भाइरल बनेसँगै स्थानीय समस्याले राष्ट्रिय स्तरमा चर्चा पाएको छ । निर्वाचन जितेपछि आफ्नो क्षेत्रमा कम आउने र विकासका काममा चासो नदिने नेताहरूलाई एउटी १५ वर्षीया किशोरीको यो भिडियोमार्फत प्रश्न गरेको भन्दै चर्चा भएको हो ।

