
सर्लाही सदरमुकाम मलंगवामा ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोडैता नगरपालिका–५ की २३ वर्षकी गुरिया कुमारी रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी वेदप्रसाद गौतमका अनुसार मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोक अगाडि बिहीबार बिहान करिब १० बजे ज १त ५२४६ नम्बरको ट्याक्टरले पैदलयात्री कुमारीलाई ठक्कर दिएको हो ।
नगरपालिका चोकबाट राजश्री चोकतर्फ जाँदै गरेको उक्त ट्याक्टरले सोही दिशातर्फ पैदल हिँडिरहेकी कुमारीलाई ठक्कर दिँदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। घाइते कुमारीलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर, बिहान १०:२२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
ट्याक्टर र चालक गोडैता नगरपालिका–११ निवासी १७ वर्षीय अजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकसँग चालकअनुमति पत्रसमेत नरहेको प्रहरीले जनाएको छ।

