
काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्नो उत्पादन ‘डीडीसी घिउ’ मध्यपूर्वका देशहरूमा निर्यात गर्न सुरु गरेको छ ।

शुक्रबार नेपाल एयरलाइन्सको उडानमार्फत पहिलो चरणमा ५ सय किलो घिउ दुबई पठाएर निर्यातको औपचारिक सुरुवात गरिएको हो । डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी ‘रातो र चन्द्र सूर्य इन्टरनेसनल प्राइभेट लिमिटेड’ सँग व्यावसायिक सम्झौता गरेको छ ।
डीडीसीका महाप्रबन्धक डा. शरण पाण्डेले अनुसार मध्यपूर्वका सबै देशमा डीडीसीको घिउ निर्यात गर्ने गरी सम्झौता भएको जानकारी दिए । ‘हामीले आजदेखि दुबईका लागि ५ सय किलो घिउ पठाएर यसको सुरुवात गरेका छौँ,’ महाप्रबन्धक पाण्डेले भने, ‘वार्षिक ५० हजार किलो (५० टन) निर्यातका लागि सम्झौता भइसकेको छ ।’
यो निर्यात मागअनुसार हप्तैपिच्छे पनि हुन सक्नेछ । डीडीसीले मध्यपूर्वसँगै अन्य देशहरूमा पनि बजार विस्तारको काम तीव्र पारेको बताएको छ । महाप्रबन्धक पाण्डेका अनुसार केही समयपछि नै जापान र दक्षिण कोरिया लगायत देशमा समेत घिउ निर्यात हुनेछ ।
‘हामीले भर्खर सुरुवात गरेका छौँ, अब विस्तारै गर्दै जाने हो, त्यसका लागि हामीसँग कच्चा पदार्थ पनि हुनुपर्यो,’ उनले भने, ‘आउँदो कात्तिकदेखि भने हाम्रो उत्पादन जापान, दक्षिण कोरिया र चीनको तिब्बतसम्म जान्छ ।’

