
धनगढी । कैलालीको भजनी क्षेत्रमा सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी भइरहेको आरोपकाबीच प्रहरीले भारतबाट अवैध रूपमा ल्याइँदै गरेको ठूलो परिमाणको सामान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार बिहान करिब ७ बजे भजनी नगरपालिका–हिम्मतपुरस्थित सशस्त्र प्रहरीको बीओपी नजिकैबाट करिब ३ लाख १८ हजार रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको हो ।
भारतबाट ट्युबमार्फत अवैध सामान ल्याइरहेको सूचनाका आधारमा प्रहरीले अप्रेसन गरेको थियो । प्रहरी टोलीलाई देख्नासाथ तस्करीमा संलग्न व्यक्तिहरूले सामान र ट्युबसमेत उखुबारीमा फालेर फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बरामद सामानमा करिब डेढ सय प्याकेट सुर्ती, करिब ३०० प्याकेट बिडी, २०० किलो प्लास्टिक, कुरमुरे, गाडीका ट्युब लगायत छन् ।
प्रहरीले सामान बरामद गरेको स्थान सशस्त्र प्रहरीको हिम्मतपुर बीओपीबाट करिब १५० मिटर मात्रै टाढा रहेको जनाएको छ । यसअघि पनि प्रहरीले केही दिनअघि सोही बीओपी नजिकैबाट भारतबाट ल्याइँदै गरेको करिब साढे दुई लाख रुपैयाँ बराबरको सामान बरामद गरेको थियो ।
सीमा क्षेत्रमा हुने चोरी–तस्करी नियन्त्रण तथा नियमनका लागि स्थापना गरिएको बीओपीबाटै नजिकै लगातार तस्करीका सामान बरामद हुन थालेपछि सशस्त्र प्रहरीमाथि तस्करसँग मिलेमतो गरेको आरोप लागेको छ ।
बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक केशव बुढामाथि ड्युटीमा प्रहरी परिचालन नगर्ने, तस्करी भइरहेको सामान बरामद गर्नुको सट्टा नदेखेझैँ गर्ने लगायतका आरोपसमेत लागेका छन् ।
तर, प्रहरी निरीक्षक बुढाले भने प्रहरीले बीओपी नजिकैबाट सामान बरामद गर्न सफल हुनुमा प्रहरीसँग राम्रो सुराकी संयन्त्र भएकै कारण सम्भव भएको दाबी गरेका छन् । उनले चोरी–तस्करी नियन्त्रणका लागि २४ घण्टा नै गस्ती परिचालन हुने दाबी गर्दै ‘चोरसँग नसकिने रहेछ’ भन्ने आशयको तर्क गरेका छन् ।
यता, स्रोतका अनुसार बुढाले माथिल्लो तहमा बुझाउनुपर्ने भन्दै तस्करहरूबाट ‘हप्ता’ समेत असुल्ने गरेको आरोप छ । यद्यपि, उक्त आरोपको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।
बीओपीकै आसपासबाट पटक–पटक तस्करीका सामान बरामद हुन थालेपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी र तस्करी नियन्त्रणको प्रभावकारितामाथि प्रश्न उठेको छ ।

