परम्परा जोगाउने नाममा मुख्यमन्त्री कार्यालयमा यस्तो ‘केटाकेटी’ खेल, सरकारी पेटारो कांग्रेस सांसदको जिम्मा


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बडिमालिका पुजाका लागि पेटारो पठाएको छ । प्रदेशकै प्रसिद्ध धार्मिक तीर्थस्थल बडिमालिका मन्दिरमा पूजाआजाका लागि सरकारले पूूजाआजाका लागि पेटारो पठाएको हो ।

तर, सरकारी पेटारो भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पदमबहादुर शाहीको नेतृत्वको टोलीमा पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेटारो पठाउन अघि मुख्यमन्त्री खगराज भट्टले पूजाआजा गरेका थिए ।
त्यहाँ सरकारका प्रायः सबै मन्त्री देखिएका थिए तर पेटारो लैजाने टोलीमा मन्त्री त गएनन् नै सत्तापक्षकै एक जना सांसद पनि नगएको पाइएको हो । यद्यपी प्रदेश सरकारले कर्मचारी पठाएको छ । कोही नगएपछि बाजुराबाटै निर्वाचित कांग्रेसका सांसद शाहीको हातमा पेटारो थमाएर पठाइएको छ ।
‘नाच्न नजान्ने आगन टेढो’, यस्तो ‘केटाकेटी’ खेल
सुदूरपश्चिमको मुख्यमन्त्री बनेपछि स्टन्डमा रमाएको आरोप प्रारम्भमै खेपेका खगराज भट्टले आइतबार बडिमालिका पेटारो त पठाए तर मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पर्याप्त तयारी गर्न नसकेपछि फितलो देखियो ।
कार्यालयले पेटारो पठाउन अघि धार्मिक कर्म गर्ने व्यक्तिको समेत खोजी नगरेको भेटियो । पण्डित नभएपछि कांग्रेस सांसद शाहीले नै रिर्पोटिङका लागि पुगेका पत्रकार हिमाल जोशीलाई कर्म गरिदिन भनेका थिए ।
मुख्यमन्त्री पूजा गर्न तयारी अवस्थामा थिए तर, त्यहाँ हिन्दु विधिअनुसार आवश्यक पर्ने पूजा सामाग्रीको व्यवस्थापन नै गरिएको थिएन । कुस, गोबर, गहुँत दुधलगायतका घरेलु पूजा सामाग्री बिना नै धार्मिक कर्म गर्नुपरेको थियो ।
सरकारी पक्षले यसरी पठाउने पेटारोमा सामान्यतया बाजागाजासहित लैजाने प्रचलन छ । एक दिन अघि मात्र धनगढी उपमहानगरपालिकाले पनि बडिमालिकाका लागि पेटारो पठाएको थियो । नगर प्रहरीको ब्यान्ड बाजासहितको टोलीको नेतृत्व गर्दै नगर प्रमुख गोपाल हमाल आफैँ बडिमालिका हिडेका छन् ।
तर, प्रदेश सरकारको पेटारो भने रित्तो हात पठाइएको छ । अथात् बाजागाजाको कुनै चाजोबाजो गरिएन । सरकारले समन्वय गरेको भए नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी मध्ये जुुनसुुकै निकायले बाजासहितको सांस्कृतिक टोली पठाउन सक्ने थियो ।
यसबारे प्रदेश सरकारले कुनै समन्वय नभएको सुरक्षा निकायले बताइएका छन् ।
