
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले रसुवासहितका जिल्लामा गएको बाढीपहिरोबाट प्रभावितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। साथै, विपद्मा परेकाहरूको सहयोगका लागि थप सहयोग जुटाउन आह्वानसमेत गरेको छ।
प्रदेश कमिटीको भदौ ११ गते धनगढीमा बसेको बैठकले हिमताल फुटेर रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा र चितवनसम्म भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना जनाएको हो। बैठकले पुनर्निर्माण, पुनःस्थापना तथा घाइतेको उपचारका लागि सरकारले उचित बजेट व्यवस्था गर्नुपर्ने माग गरेको छ।
एमाले सुदूरपश्चिमले राहत तथा उद्धार कोषमा १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गर्दै विपद्को समयमा प्रभावितलाई आवश्यक सहयोग गर्न सबैलाई आह्वान गरेको छ।
बैठकले किसानलाई मल, बीउ तथा कीटनाशक औषधि सहज उपलब्ध गराउन, चाडपर्वका बेला इन्धन तथा उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न र सीमा क्षेत्रमा भइरहेको बाह्य हस्तक्षेपप्रति सरकारको ध्यानाकर्षण गराउनेलगायतका निर्णयसमेत गरेको छ।

