
चितवन । वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरको एकै टोलका ५ परिवार हिजो शुक्रबारदेखि भरतपुरमा छन्।
एकै टोलका पाँच युवा रसुवा बाढीमा हराएपछि उनीहरू भेटिन्छन् कि भनेर उनीहरू चितवन आएका हुन्। तर, चितवनमा भेटिएका शवबाट कुनै पनि पहिचान हुन सकेको छैन।
फेसबुकमा मिलन शाही नाम गरेका कन्टेन्ट क्रियटरले हिजो एउटा उद्धारको भिडियो सार्वजनिक गरेका छन्। जसमा घाँटी तलको भाग जमिनमुनि पुरिएको अवस्थामा एक व्यक्ति देखिएका छन्। भिडियोमा उनी जिउँदै देखिन्छन्। मुन्टो हल्लाइरहेका छन्। प्रहरीले उद्धारको प्रयास गरेको पनि देखिन्छ।
त्यो भिडिओ हेरेर छोरा खोज्दै चितवन आइपुगेकी ताम्रुन खातुन रोइरहेकी छिन्।
डेढ महिना अगाडि काम गर्न १६ वर्षका राहुल मिया रसुवा पुगेका थिए। उनी भन्सार छेउमा मासु पसल र किराना पसलमा काम गर्थे। ९ गते बेलुका रसुवा भोटेकोसीमा आएको बाढीमा परेर उनी सम्पर्कविहीन भए। अहिले परिवार खोजीका लागि चितवन आइपुगेका छन्।
आमा खातुनले भिडिओ देखिए पनि छोरा कहाँ भएको थाहा नपाएको बताइन्। उनी छोरा खोजिरहेकी छिन्। कहाँ जाने मेसो नपाएका उनीहरू चितवनमै बसिरहेका छन्।
त्यसैगरी, २० वर्षका सप्राज मियाकी आमा सैमुल्यासा मिया पनि भरतपुरमै अन्योल भएर बसिरहेकी छन्। खगेन्द्र जैसीले सशस्त्र प्रहरीसहित फेसबुकमा राखेको एउटा भिडियोमा देखिएको शव उनकी आमा सैमुल्यासाले पहिचान गरेकी छन्। तर, उनको शव कहाँ देखिएको हो थाहा छैन। शव कहाँ खोज्न जाने मेसो छैन।
उनी रसुवामा मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका थिए। कहाँ गए, छोरा भेटिन्छन् कि भेटिँदैनन्, थाहा नभएको मिया बताउँछिन्।
एकै टोलका अरू तीन जना १६ वर्षका सर्ताज आलम, २१ वर्षका साहबोदिन मन्सुरी र १७ वर्षका समिम मिया बेपत्ता छन्।
भरतपुरमा भेटिएका २ सय ३३ मध्ये कुनै शव पनि आफ्ना छोराहरूको नभएको साहबोदिन मन्सुरीले बताए। उनीहरू छोराहरू खोज्न कहाँ जाने भन्नेमा अन्योलमा छन्।

