
काठमाडौं । चिलिमे सुरुङमा नेपाली सेनासँग सहकार्य गरिरहेको भारतीय सुरुङ उद्धार टोलीले खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाएको छ।
भारतीय टोलीले शुक्रबार सुरुङभित्र थप गहिराइसम्म पुगेर जमेको पानी निकासी गर्दै खोजी कार्य अघि बढाएको जनाइएको छ। सुरुङभित्रको पानी हटाउँदै उद्धार टोली थप भित्री भागमा प्रवेश गर्ने प्रयासमा छ।
यसैबीच, सुरुङसम्म ठूला तथा भारी उद्धार उपकरण पुर्याउन अस्थायी ट्र्याक निर्माणको कामसमेत अघि बढाइएको छ। थप मेसिन तथा उपकरण घटनास्थलमा पुर्याउन सहज हुने गरी ट्र्याक बनाउने काम भइरहेको हो।
उद्धार अभियानमा खटिएको भारतीय टोलीसँग रहेका चिकित्सकहरूले स्थानीय समुदायका लागि स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका छन्। शिविरमार्फत स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको जनाइएको छ।
नेपाली सेना र भारतीय उद्धार टोलीले चिलिमे क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित संरचनामा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

