
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दको एकवर्षे कार्यकाल पूरा भएको छ। चन्द गत वर्ष भदौ ११ गते कैलाली प्रहरी प्रमुखमा सरुवा भएका थिए भने भदौ १५ गतेदेखि जिल्लाको कमाण्ड सम्हालेका थिए।
तत्कालीन प्रहरी प्रमुख बालनरसिंह राणालाई जिम्मेवारीबाट हटाएर चन्दलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट कैलाली पठाइएको थियो।
नेपाल प्रहरीको प्रचलित व्यवस्थाअनुसार प्रहरी प्रमुखहरूको नियमित रूपमा करिब एक वर्षपछि सरुवा हुने गर्छ। सोहीअनुसार चन्दको कैलाली बसाइको अवधि पूरा भएसँगै नयाँ प्रहरी प्रमुखका लागि एसपीहरूबीच दौडधूप सुरु भएको छ।
तराईको महत्वपूर्ण जिल्ला भएकाले कैलाली प्रहरी प्रमुख बन्न प्रहरी उपरीक्षकहरूबीच आन्तरिक लविइङसमेत तीव्र बनेको स्रोतको दाबी छ। स्रोतका अनुसार कैलालीको कमाण्ड सम्हाल्न इच्छुक एसपीहरूले नेतृत्व तहमा आफ्नो पक्षमा वातावरण बनाउन सक्रियता बढाएका छन्।
यद्यपि, रसुवा बाढीपछि उत्पन्न परिस्थितिका कारण प्रहरी अधिकारीहरूको सरुवा प्रक्रिया केही ढिलो हुन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ।
कैलाली प्रहरी प्रमुखको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा प्रहरी प्रधान कार्यालय र गृह प्रशासन तहमा छलफल भइरहेको बताइएको छ।

