गरिमा हत्या प्रकरण : दुई बालकलाई सुधार गृह, १० प्रतिवादीलाई तारिखमा रिहा गर्न आदेश

cp new add
Nisharg hospital

बारा सिमराकी बालिका गरिमा चौधरीको अपहरण, जबरजस्ती करणी तथा हत्या प्रकरणमा बारा जिल्ला अदालतले दुई बालकलाई बाल सुधार गृहमा पठाउने र अन्य १० प्रतिवादीलाई तारिखमा राखेर रिहा गर्ने आदेश दिएको छ ।

अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले भदौ २४ गते दुई बालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउने आदेश दिएको हो । अदालतले ती दुई बालकविरुद्ध संकलित बयान, शव परीक्षण प्रतिवेदन, चिकित्सकीय परीक्षण, डीएनए परीक्षण, मनोसामाजिक परामर्श प्रतिवेदन लगायतका प्रमाणलाई आधार मानेको आदेशपत्रमा उल्लेख छ ।

अदालतले कानुनको विवादमा परेका बालकहरूविरुद्ध अभियोगमा मागदाबीअनुसार सजाय हुन सक्ने आधार देखिएको भन्दै मुद्दाको पुर्पक्ष अघि बढाउन आदेश गरेको हो । साथै, पीडित पक्षलाई तत्काल अन्तरिम क्षतिपूर्ति उपलब्ध गराउन २ लाख रुपैयाँ पीडित राहत कोषबाट उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गर्न आदेश दिइएको छ ।

यसैगरी, बिहीबार अदालतले यही घटनामा अभियोग लागेका १० जना प्रतिवादीलाई तारिखमा राखेर पुर्पक्ष गर्ने आदेश दिएको छ । न्यायाधीश प्रकाश कुमार अधिकारीको इजलासले सोही घटनाका प्रतिवादीहरू जीतपुर सिमरा उपमहानगरपालिका–१ का प्रोग्रेश ९पुरग्रेश० चौधरीसहित १० जनालाई रिहा गर्न आदेश दिएको हो । प्रोग्रेश चौधरीलाई २० हजार रुपैयाँ धरौटी र अन्य ९ जनालाई साधारण तारेखमा रिहा गर्ने अदालतको आदेश छ ।

प्रतिवादीहरू प्रोग्रेशका बुबा इन्द्रजीत, आमा बबिता, पत्नी पुष्पा, दिदी ममताका साथै सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिनलाई साधारण तारेखमा छाडेको छ । घटनामा उनीहरूको संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएकाले रिहा गरिएको आदेशमा उल्लेख छ ।

बालिकाका बुबा मनोज चौधरीले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनीहरूमाथि अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दा अदालतमा अभियोजन गरेको थियो । घटनामा उनीहरुको संलग्नता देखिने ठोस प्रमाण नदेखेपछि अदालतले उनीहरुलाई रिहा गर्ने आदेश दिएको उल्लेख छ ।

गत साउन ३१ गते जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित प्रोग्रेस चौधरीको घरमा खेल्न गएका बेला गरिमा बेपत्ता भएकी थिइन् । भदौ २ गते साँझ भक्तिनगरस्थित एक घरमा उनको शव फेला परेको थियो । यो घटनाको देशव्यापीरुपमा चर्को विरोध र दोषीमाथि कडा कारबाहीको माग गरिएको थियो । भदौ ६ गते सरकारसँगको ३ बुँदे सहमति पश्चात परिवारजनले शव बुझेका थिए । परिवारजनले सो घटनामा दुई बालकसहित १२ जनालाई प्रतिवादी बनाएर जाहेरी दिएका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...