
धनगढी । सरकारी जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ बस्ने ३० वर्षीय राज श्रेष्ठ रहेका छन्।
श्रेष्ठले आफ्नो वास्तविक परिचय लुकाई मोहन केसीको नाममा नक्कली नागरिकता प्रमाणपत्रलगायतका कागजात बनाएको र विभिन्न बैंकमा खाता खोलेको प्रहरीले जनाएको छ।
उनले नेपाली सेना, नेपाल प्रहरी तथा स्टाफ नर्सलगायतका पदमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोप छ।
श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा पक्राउ गरिएको हो। उनीमाथि ठगीसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

