मोटरसाइकल दुर्घटनामा वृद्धको मृत्यु

cp new add
Nisharg hospital

रौतहट । रौतहट चन्द्रनिगाहपुर–गौर सडकखण्डअन्तर्गत चन्द्रपुर नगरपालिका–८ वसन्तपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री वृद्धको मृत्यु भएको छ। दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन्।

बिहीबार राति सडकमा हिँडिरहेका स्थानीय ६५ वर्षीय सीताराम चौधरीलाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि फरार मोटरसाइकल र चालकको पहिचान हुन सकेको छैन। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी सत्यनारायण थापाका अनुसार दुर्घटनामा संलग्न मोटरसाइकलको खोजी भइरहेको छ। ‘ठक्कर दिने मोटरसाइकलको पहिचान खुलेको छैन, खोजी भइरहेको छ,’ डीएसपी थापाले भने।

यसैबिच, दुर्घटना भएको क्षेत्र आसपास जडान गरिएका सीसी क्यामेरा प्रभावकारी रूपमा सञ्चालनमा नरहेको स्थानीयले बताएका छन्। चन्द्रपुर नगरपालिकाले विभिन्न स्थानमा जडान गरेका क्यामेरा नियमित सञ्चालनमा नआउँदा दुर्घटना तथा आपराधिक घटनाको अनुसन्धानमा समस्या हुँदै आएको स्थानीयहरूको गुनासो छ।

स्थानीयका अनुसार सीसी क्यामेरा सञ्चालनमा रहेको भए दुर्घटनापछि फरार मोटरसाइकलको नम्बर वा चालकको पहिचान गर्न प्रहरीलाई सहयोग पुग्न सक्थ्यो। सडक दुर्घटनाको अनुसन्धानमा महत्त्वपूर्ण प्रमाण बन्न सक्ने सीसीटीभी फुटेज नै उपलब्ध नहुँदा घटनाको अनुसन्धान थप चुनौतीपूर्ण बनेको उनीहरूको भनाइ छ।

प्रहरीले भने दुर्घटनामा संलग्न मोटरसाइकलको पहिचान र खोजीका लागि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...