
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ।
देशका विभिन्न भागमा अविरल वर्षा भइरहेका बेला बाढी तथा पहिरोको जोखिम बढेकाले विशेष सतर्कता अपनाउन विभागले सर्वसाधारणलाई आग्रह गरेको हो।
विभागका मौसमविद् रोजन लामिछानेले मौसम खुलेपछि मात्रै धान काट्ने योजना बनाउन किसानलाई सुझाव दिएका छन्। प्रतिकूल मौसमका बेला हतारमा धान काट्दा बालीसँगै जनधनको क्षति हुनसक्ने उनको भनाइ छ।
‘किसान सर्वसाधारणहरूले धान नकाट्नुहोला। मौसमको अवस्था बुझेर मात्र आगामी दिनमा मौसम खुलेपछि त्यसको योजना बनाउनुहोला,’ उनले भने। उनका अनुसार पूर्वी भूभागमा मौसम क्रमिक रूपमा सुधार हुँदै गए पनि पश्चिमी भूभागमा भने भोलि दिउँसोसम्म वर्षाको प्रभाव देखिनेछ। पश्चिमी क्षेत्रमा पछिल्ला ३–४ दिनदेखि लगातार वर्षा भइरहेकाले थप पानी पर्ने सम्भावना रहेको उनले बताए।
जमिन चिरा परेको वा सानो पहिरो देखिएको क्षेत्रमा जोखिम उच्च हुने भन्दै त्यस्ता स्थानका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न र छिमेकीलाई समेत सचेत गराउन विभागले आग्रह गरेको छ।
यस्तै, नदी तथा खोला किनारमा बसोवास गर्ने समुदायलाई जलसतह बढ्न सक्ने भएकाले थप सजग रहन भनिएको छ। स्थानीय प्रशासन र प्रहरीले गर्ने माइकिङ तथा साइरनलाई बेवास्ता नगर्न पनि विभागले आग्रह गरेको छ।
विपद्को समयमा सूचनाको पहुँच महत्वपूर्ण हुने भएकाले सर्वसाधारणलाई मौसमसम्बन्धी पछिल्लो अपडेट नियमित रूपमा हेर्न तथा कुनै जिज्ञासा वा सूचना आवश्यक परे विभागको टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

