
काठमाडौं । निरन्तरको वर्षा, पहिरो तथा खोलामा बढेको बहावका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।
सडक विभागले शनिबार बिहान ९ः३० बजे सार्वजनिक गरेको विवरणअनुसार ११ वटा प्रमुख सडकखण्ड प्रभावित भएका छन्। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, चौकीभीर, जुवाङ खोला र फिस्लिङ क्षेत्रमा यातायात पूर्ण रूपमा बन्द छ। बीपी राजमार्गका माङ्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत क्षेत्रमा सडक अवरुद्ध छ। पहिरो तथा डाइभर्सन बगेका कारण सडक खुलाउने प्रयास भइरहेको छ।
कान्ति राजमार्गको चपली र तल्लुर्केलगायत क्षेत्रमा आंशिक अवरोध रहे पनि मकवानपुर खण्डमा पहिरो हटाएर यातायात सञ्चालनमा आएको छ। ललितपुर खण्डमा पहिरो हटाउने काम जारी छ।
सिद्धिचरण राजमार्गको ओखलढुंगा–सल्लेरी खण्डमा सोलु खोलानजिक सडक भासिएपछि अवरुद्ध भएको छ। मध्यपहाडी राजमार्गको निसी गाउँपालिका–कानाबगर, कालीगण्डकी करिडोरको जैमिनी–४ बेलबगर तथा बागलुङ–बेनी सडकको म्याग्दी हुलाके क्षेत्रमा पनि पहिरोका कारण सडक अवरुद्ध छन्।
तमोर करिडोरअन्तर्गत उँधुवा खोला, नावा खोला र रानीगाउँमा खोलाको बहाव बढेका कारण सडक बन्द छ। राप्ती राजमार्गको कपुरकोट–खारखोला र कर्णाली राजमार्गका गगने खोला, नाग्म–जुम्लाको राँका, बाङ्गेसिमल–दहिखोला र हारे क्षेत्रमा पनि पहिरो तथा ढुंगा खसेर यातायात प्रभावित भएको छ।
भालुवाङ–चन्द्रौटा–लिवाङ सडकका विभिन्न स्थानमा पनि पहिरोका कारण आंशिक अवरोध छ। ती सडकमा पहिरो तथा ढुंगा हटाउन मेसिन परिचालन गरिएको सडक विभागले जनाएको छ।
विभागले सडकको अवस्था वर्षासँगै फेरबदल हुन सक्ने भएकाले यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

