
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार प्रतिनिधिसभालाई संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिता र उपलब्धिबारे जानकारी गराएका छन् ।
प्रतिनिधिसभालाई जानकारी गराउने क्रममा उनले प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रसंघको महासभामा गरेको सम्बोधन ऐतिहासिक बनेको दाबी गरे । “प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गर्नुभएको सम्बोधन धेरै दृष्टिकोणबाट ऐतिहासिक बनेको छ । सम्बोधनमा जलवायु न्यायसहित नेपालको राष्ट्रिय हितका मूलभूत पक्षहरू उजागर भएका छन्,” परराष्ट्रमन्त्री खनालले भने ।
प्रधानमन्त्रीले ‘लस एन्ड ड्यामेज फन्ड’लगायत जलवायु वित्त संयन्त्रबाट स्रोत परिचालनलाई सरल र सहज बनाउन, जलवायु न्यायलाई व्यवहारमा उतार्न गरेको आह्वानले विश्वको ध्यान खिच्न सफल भएको समेत उनले बताए ।
“उक्त सम्बोधनले नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकहरूका लागि जलवायु न्याय यथार्थमा परिणत गर्न एक महत्त्वपूर्ण कदम साबित हुने अपेक्षा गरिएको छ,” खनालले भने । न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री शाह उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ गते त्यस तर्फ प्रस्थान गरेका थिए । उनी असोज १० गते नेपाल फर्किएका थिए । प्रधानमन्त्री बालेलने असोज ८ गते महासभालाई सम्बोधन गरेका थिए ।
“हालै भोटेकोसीमा आएको विनाशकारी बाढीलाई जलवायु संकटको गम्भीर प्रभाव तथा विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गर्दै उक्त विपद्बाट भएको ठूलो जनधनको क्षति, भौतिक पूर्वाधार तथा जनजीविकामा परेको असरबारे विश्वसमुदायको ध्यानाकर्षण गराउनुभएको छ,” प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रमन्त्री खनालले भने ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीमा परेको असर तथा हिमनदी र पर्माफ्रस्ट पग्लिँदै जाँदा हिमपहिरो, बाढी र पहिरो लगायतका विपद्को जोखिम बढ्दै गएको उल्लेख गरेका थिए ।

