


धनगढी । सहारा होटल म्यानेजमेन्ट एन्ड हस्पिटालिटी र शैलेश्वरी प्लस टु धनगढीका नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै दसैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।


विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रम बर्दियाको ठाकुरद्वारास्थित बर्दिया टाइगर रिसोर्टमा सम्पन्न भएको हो। कार्यक्रमअन्तर्गत विद्यार्थीलाई नेपालगञ्जस्थित पाँचतारे होटल कल्पतरु र बर्दियाको ठाकुरद्वारास्थित पर्यटकीय क्षेत्रको अवलोकन गराइएको थियो। भ्रमणबाट विद्यार्थीले होटल व्यवस्थापन, आतिथ्य सत्कार र पर्यटन क्षेत्रको कार्यशैलीबारे जानकारी लिने अवसर पाएका थिए।






कमलराज पनेरूको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य डम्मरी महरा प्रमुख अतिथि तथा धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐर विशिष्ट अतिथि रहेका थिए। कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, जनप्रतिनिधि, व्यवसायी तथा अन्य अतिथिको उपस्थिति थियो।

कार्यक्रममार्फत विद्यार्थीको ज्ञान, सीप र व्यावहारिक अनुभव अभिवृद्धि गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। आयोजकले सम्पूर्ण विद्यार्थी, शिक्षक तथा अभिभावकलाई दसैँ, तिहार र छठ पर्वको शुभकामना व्यक्त गरेको छ।
सहारा होटल म्यानेजमेन्ट एन्ड हस्पिटालिटीले ‘जय शिक्षा, जय सीप, जय भविष्य’ भन्ने नारासहित विद्यार्थीको व्यावहारिक सीप विकासमा जोड दिँदै आएको जनाएको छ।






