



सिरहाको बरियारपट्टी गाउँपालिका–२ खोक्सीमा पुरानो रिसइबीका कारण भएको कुटपिटमा एकै परिवारका पाँच जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने कुटपिटपछि दुईवटा मोटरसाइकलमा आगजनी गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार असोज ३० गते राति करिब ११ः५५ बजे भएको कुटपिटमा स्थानीय ४५ वर्षीय सुरेन्द्र दास, उनकी श्रीमती ४० वर्षीया उषा देवी दास र छोराहरू २५ वर्षीय राधाकृष्ण, २२ वर्षीय हरिकृष्ण तथा १७ वर्षीय देवकृष्ण दास घाइते भएका थिए।
घाइते पाँचै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएकोमा उपचारपछि असोज ३१ गते बिहान डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
घटनापछि करिब १५० देखि २०० जनाको समूहले दुईवटा मोटरसाइकलमा आगो लगाएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ। आगलागीबाट दुवै मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। तीमध्ये एउटा मोटरसाइकलको नम्बर खुलेको छैन भने अर्कोको नम्बर बीआर–३२ यू ६०१६ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले असोज ३१ गते बिहान कुटपिटमा संलग्न रहेको आरोपमा टुनटुन भन्ने राजकुमार यादव, कृष्ण यादव र कपिल यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेशपुर पतारमा राखिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। हाल घटनास्थलको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।






