


काठमाडौँ । भोटेकोशी करिडोरमा आएको बाढीपहिरोका कारण प्रभावित आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा ३७ वटा शव फेला परेका नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका अनुसार सुरुङभित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण र जटिल रहेको छ।


शुक्रबार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले उक्त जानकारी दिएका हुन्।





उनका अनुसार ९.७ किलोमिटर लामो सुरुङभित्र खोजी तथा उद्धारका क्रममा ११औँ दिन एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको थियो। सुरुङभित्र फसेका ती नागरिकले हेलमेटमा पानी जम्मा गरेर पिउँदै र सुरुङभित्र हिँडेर समय बिताएको प्रारम्भिक जानकारी दिएका थिए। उद्धारका बेला उनको अवस्था निकै स्वस्थ रहेको थापाले बताए।


सुरुङको नक्सा प्राप्त गरेपछि दुई जना इन्जिनियरसँग समन्वय गरी उद्धार योजना बनाइएको थियो। नेपाली सेना, चिनियाँ र कोरियन टोलीले संयुक्त रूपमा खोज तथा उद्धारको काम अघि बढाएका थिए। पावरहाउस क्षेत्रमा कार्यरत १२० देखि १३० जनामध्ये ११० जनालाई ४८ घण्टाभित्र हेलिकप्टरमार्फत उद्धार गरिएको थियो।
उद्धारका क्रममा सुरुङभित्र अत्यधिक हिलो, साँघुरो बाटो र अक्सिजनको अभाव मुख्य चुनौती बनेको थियो। सुरुङ प्रवेश गर्ने दुईवटा सम्भावित स्थान मात्रै फेला परेका थिए भने अन्य प्रवेश मार्ग पूर्ण रूपमा अवरुद्ध थिए।
अस्ट्रेलियन उद्धार टोलीको ड्रोनको सहायताले अडिट–३ बाट सुरुङभित्र करिब १ हजार ७०० मिटर अगाडिसम्मको अवस्था अध्ययन गर्दा सुरुङ पूर्ण रूपमा अवरुद्ध भएको पाइएको थियो। सोही क्षेत्रमा खोजी गर्दा हेडवर्क क्षेत्रमा ठूला मेसिन, मिक्सर, एक्स्काभेटर र ट्रक थुप्रिएको अवस्थामा भेटिएका थिए। त्यही क्षेत्रमा ३७ वटा शव फेला परेको सहायक रथी थापाले जानकारी दिए।
सुरुङको करिब चार किलोमिटर क्षेत्रमा २१ फिट अग्लो सुरुङमा १७ फिटसम्म पानी र लेदो जमेको छ। हेडवर्कबाट अडिट–३ हुँदै करिब १.७ किलोमिटरभित्र पुगिए पनि त्यसपछिको क्षेत्रमा प्रवेश गर्न सक्ने अवस्था नरहेको सेनाले जनाएको छ।
अडिट–१ क्षेत्रबाट पानी निकाल्ने विकल्पबारे आयोजना तथा इन्जिनियरिङ टोलीसँग छलफल भइरहेको छ। हाल उक्त क्षेत्रमा नेपाली सेनाका ४२ जना जनशक्ति परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ।






