प्रजापति कम्प्लेक्समा आगलागी, ८० लाखको क्षति



भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी हुँदा करिब ८० लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ ।
शनिबार बिहान कम्प्लेक्सको सातौँ तलामा रहेको ‘द ट्रयाङ्कुली टाइम्स स्पा एण्ड वेलनेस प्रालि’ मा विद्युत् सर्ट भएर आगलागी भएको हो । बिहान करिब ८ बजे कम्प्लेक्सका सञ्चालक कुमार प्रजापतिले पसल खोल्ने क्रममा धुवाँको मुस्लो देखेपछि दमकल र प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी, दमकल तथा सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा खटिएको थियो ।
आगलागीबाट स्पामा मात्रै करिब ६० लाख रुपैयाँ बराबरको भौतिक सम्पत्ति नष्ट भएको सञ्चालक नरेश रञ्जितले जानकारी दिए । पाँच वर्षदेखि सञ्चालनमा रहेको स्पामा आगलागीका कारण ठूलो क्षति पुगेको उनको भनाइ छ ।
त्यस्तै, कम्प्लेक्सतर्फ करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको सञ्चालक प्रजापतिले बताएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार स्पा र कम्प्लेक्समा गरी करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
आगलागी नियन्त्रणमा भक्तपुरको जुद्ध वारुण यन्त्र, सशस्त्र प्रहरी बलको औद्योगिक सुरक्षा बेस ब्यासी, प्रहरी वृत्त थिमि तथा नेपाली सेना रणशेर गण सूर्यविनायकको टोली खटिएको थियो । सुरक्षाकर्मीको संयुक्त प्रयासमा बिहान करिब ९ः२० बजे आगो नियन्त्रणमा लिइएको हो ।
आगलागी बिहानै भएकाले मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । अग्लो भवनको माथिल्लो तलामा आगलागी हुँदा दमकलबाट पानीको फोहोरा माथिसम्म पुर्याउन केही कठिनाइ भएको प्रहरी उपरीक्षक खड्काले बताए ।
जुद्ध बारुण यन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले अग्ला भवनमा हुने आगलागी नियन्त्रणका लागि ड्रोन प्रविधिसहितका आधुनिक उपकरण आवश्यक रहेको बताए । उनले आगलागी नियन्त्रणलाई प्रभावकारी बनाउन सरकारले नयाँ प्रविधि भित्र्याउनुपर्नेमा जोड दिएका छन् ।
