

धनगढी । कैलाली र कञ्चनपुरबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थित होल्डिङ सेन्टरबाट दुई जना र कैलालीको टीकापुरबाट एक जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार होल्डिङ सेन्टरमा भारतबाट नेपालतर्फ आउँदै गरेका कैलालीको गोदावरी नगरपालिका–१० का २० वर्षीय जीवन लुहारलाई शंका लागेर चेकजाँच गर्दा १० ग्राम ६०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला परेको थियो ।
सोही स्थानबाट दोधारा चाँदनी नगरपालिका–६ का २० वर्षीय कुशल सुनारलाई पनि २०० मिलिग्राम उक्त पदार्थसहित प्रहरीले पक्राउ गरेको छ । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो ।
यस्तै, कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नम्बर १३ बाट २ ग्राम ३३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित २९ वर्षीय राजेन्द्र कुँवर पक्राउ परेका छन् । टीकापुरस्थित आफ्नै ठाउँमा शंकास्पद अवस्थामा चेकजाँच गर्दा उक्त पदार्थ फेला परेपछि उनलाई बुधबार साँझ इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार तीनै जनाको साथबाट कुल १३ ग्राम १३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

