होटलमा लाखौंको रहस्यमय कारोबार, ५० लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलस्थित एक होटलबाट ५० लाख रुपैयाँभन्दा बढी नेपाली तथा विदेशी मुद्रा बरामद भएको छ । स्रोत नखुलेको रकम लुकाइछिपाइ राखिएको सूचनाका आधारमा प्रहरीले छापा मार्दा एक नेपाली युवती र माल्दिभ्सका नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधवार (मंसिर ९ गते) दिउँसो करिब १ बजे ठमेलस्थित स्नोलाइन होटलबाट उनीहरूलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा चितवन घर भई काठमाडौंको ठमेलमा बस्दै आएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगिथ इब्राहिम रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ५० लाख ५० हजार रुपैयाँ नेपाली नगद बरामद गरेको छ । त्यस्तै, ओमानका ४ हजार २१५ रियाल र संयुक्त अरब इमिरेट्स (यूएई) का ५५ दिरामसमेत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिएका छन् ।

होटलमा स्रोत नखुलेको अवैध रकम लुकाइछिपाइ राखिएको भन्ने विशेष सूचनापछि प्रहरी वृत्त लैनचौरको टोली अनुसन्धानका लागि पुगेको थियो । सोही क्रममा ठूलो परिमाणमा नेपाली तथा विदेशी मुद्रा फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बरामद भएको रकमको स्रोत, कारोबारको उद्देश्य तथा पक्राउ परेका व्यक्तिहरूबीचको सम्बन्धबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

ठमेलजस्तो पर्यटकीय तथा अन्तर्राष्ट्रिय गतिविधि हुने क्षेत्रमा ठूलो परिमाणमा नेपाली र विदेशी मुद्रा एकै ठाउँबाट बरामद हुनुले उक्त रकमको स्रोत र सम्भावित कारोबारबारे थप चासो उत्पन्न गरेको छ । प्रहरीले भने अनुसन्धान पूरा नभएसम्म रकमको अवैध कारोबारसँग सम्बन्धित विषयमा निष्कर्ष सार्वजनिक गरेको छैन ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...