

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
बुधबार राति करिब ९ बजे मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा लु.२ च. ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको लु.२ त. २४१७ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राति १०ः३५ बजे उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइतेमध्ये मध्यबिन्दु नगरपालिका–१० अरुणखोलाका १८ वर्षीय अश्विन चौधरी र २० वर्षीय निर्मल चौधरीको अवस्था गम्भीर रहेको छ। उनीहरूको मुख, छाती र टाउकोमा चोट लागेको छ।
त्यस्तै, विनयी त्रिवेणी–४ का रविन चौधरी, रिजन चौधरी र सुमेन्द्र चौधरीको अवस्था मध्यम रहेको छ भने अन्य आठ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये आठ जनालाई थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको थियो। अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको र केही उपचारपछि डिस्चार्ज भएका छन्।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

