

काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएका अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी उच्च स्रोतले अर्याल पक्राउ परेको पुष्टि गर्यो । उनी कहाँबाट पक्राउ परेका हुन् भन्ने चाहिँ बताउन चाहेन । यद्यपि गृह मन्त्रालयको स्रोतले भने उनलाई भारतको कलकत्ताबाट पक्राउ गरेर नेपाल ल्याइँदै गरेको बताएको छ । अर्यालविरुद्ध मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिइएको थियो ।
अर्याल मुख्यसचिव बन्नुअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवका रूपमा कार्यरत थिए । उनी मन्त्रालयको सचिव हुँदा भएको भनिएको निर्णय प्रक्रियामा उनको संलग्नता रहेको आरोपमा अनुसन्धान अघि बढाइएको हो ।
अर्याल २०८१ भदौमा मुख्यसचिव नियुक्त भएका थिए । त्यसअघि उनले गृहसचिवको जिम्मेवारी सम्हालेका थिए । मुख्यसचिवका रूपमा करिब १५ महिना काम गरेपछि २०८२ मंसिरमा उमेर हदका कारण अनिवार्य अवकाश पाएका थिए । मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क असुली गर्ने प्रणालीलाई निरन्तरता दिन सरकारी अधिकारीहरूले सहजीकरण गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
करिब सात लाख नेपाली श्रमिकसँग जोडिएको यस प्रकरणमा पूर्वमन्त्रीदेखि उच्च प्रशासनिक अधिकारीसम्म अनुसन्धानको दायरामा परेका छन् ।

