

२५ मंसिर, बैतडी । बैतडीमा आजदेखि जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता सुरुहुने भएको छ ।
मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मेनेजर तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय अन्तरपालिका भलिबलको आयोजना आइतबारदेखि गर्न लागेको हो ।
जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता आजदेखि सञ्चालन हुने ट्रष्टका सचिव विनोदबहादुर चन्दले बताए । प्रतियोगिताको तयारी पूरा भइसकेको तथा प्रतियोगितामा दोगडाकेदार गाउँपालिका बाहेक ९ ओटा स्थानीय तह र एक आयोजक गरी १० ओटा टीमको सहभागिता रहेकोे चन्दले बताए ।
मैनेजर तेजबहादुर चन्दको घरबाट शहीद दशरथचन्द घर हुँदै प्रभातफेरीको आयोजना गरेर दशरथचन्द खेल मैदान सुन्दरखालीमा प्रतियोगिताको उद्दघाटन गरिने चन्दले बताए ।
प्रतियोगितामा प्रथम हुने टीमलाई नगद १ लाख २५ हजार र ट्रफी, दोश्रो हुनेलाई नगद ७५ हजार र ट्रफी तथा तेश्रो हुनेलाई नगद ३५ हजार ट्रफी वितरण गरिने ट्रष्टले जनाएको छ ।
यो भन्दा पहिला दशरथचन्द नगरपालिकास्तरीय भलिबल प्रतियोगिता गर्दै आएको ट्रष्टले पहिलो पटक जिल्लास्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो । यसका साथै ट्रष्टले अन्य सामाजिक कार्य समेत गरिरहेको सचिव चन्दले बताए ।

