

धनगढी । टिकटकमा डोटेली भाषामा बनाएका छोटा कमेडी भिडियोमार्फत भाइरल भएका ह्यारी कार्की अभिनीत नयाँ देउडा डिजे गीत ‘मेरा कञ्चनपुर’ सार्वजनिक भएको छ।
गीत शुक्रबार कार्कीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। ह्यारी कार्कीकै शब्द रहेको गीतमा लोकप्रिय गायक कुलेन्द्र परियारको स्वर र संगीत रहेको छ।

गीतको भिडियोमा ह्यारी कार्कीसँगै मन्नु भट्ट र विनय चन्दले अभिनय गरेका छन्। भिडियोलाई रमेश बिजुली बिसीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् भने, शङ्कर साउँदले सम्पादन र दया चौधरीले छायाङ्कन गरेका छन्।
भिडियो कैलाली–कञ्चनपुरका रमणीय स्थलहरू महेन्द्रनगर, टिकापुर पार्क, कर्णाली चिसापानी लगायत स्थानहरूमा छायाङ्कन गरिएको हो। भिडियो निर्माण जुम प्रोडक्सनको ब्यानरमा गरिएको हो।
सामाजिक सञ्जालमा कमेडियनका रूपमा चर्चित ह्यारी कार्कीले यसअघि पनि विभिन्न देउडा गीतमा अभिनय गरिसकेका छन्।

