
१३ कात्तिक, धनगढी । बझाङमा ज्यान मार्ने उद्योग गरेको आरोपमा एक जना वडाध्यक्ष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको खप्तडछान्ना गाउँपालिका–५ का वडाध्यक्ष तेजबहादुर खड्का रहेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले जानकारी दिए ।
उनकाअनुसार खप्तडछान्ना गाउँपालिका–६ का टेकबहादुर खड्काले ज्यान मार्ने उद्योगमा दिएको किटानी जाहेरीका आधारमा वडाध्यक्ष खड्कालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ ।
प्रहरीकाअनुसार ज्यान मार्ने उद्योग गरेको आरोप लागेका अन्य ६ जनाविरुद्ध पनि किटानी जाहेरी परेको छ तर उनीहरु फरार छन् । फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । कुटपिट सम्बन्धीको घटना कात्तिक ९ गतेको भएको प्रहरीको भनाइ छ ।
वडाध्यक्षसहितको समूहको कुटपिटमा परेका दुई जनाको धनगढीमा उपचार भइरहेपनि घटनाबारे विस्तृत विवरण दिन नमिल्ने प्रहरीले जनाएको छ ।

