

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पताल डोटी र अछामको व्यवस्थापन समिति अध्यक्ष नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डोटी जिल्ला अस्पतालको अध्यक्षमा भरत बोहरा र अछाम जिल्ला अस्पतालको अध्यक्षमा लीलाराज केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
त्यस्तै, प्रदेश खेलकुद परिषद् सदस्यमा कञ्चनपुरका लीला बोहरा, काशीराम बोहरा तथा बैतडीका पूर्णबहादुर टेर नियुक्त भएका छन्।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ को अनुसूची हेरफेर गर्नुका साथै सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन नियमावली, २०८२ स्वीकृत गरेको छ।
यस्तै, स्वकीय सचिवालयका कर्मचारीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी निर्णय गरिएको छ भने प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको ऐन, २०७५ को अनुसूची–२ पनि हेरफेर गरिएको छ।
मन्त्रिपरिषद् बैठकले बाजुराको हिमाली गाउँपालिकास्थित अस्थायी प्रहरी चौकी भवन निर्माण कार्यक्रमलाई सशर्त अनुदानका रूपमा हिमाली गाउँपालिकालाई हस्तान्तरण गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेश सवारी साधन खरिद तथा प्रयोग सम्बन्धी निर्देशिका, वित्तीय हस्तान्तरण सम्बन्धी व्यवस्था तथा सुदूरपश्चिम जनता आवास कार्यक्रम कार्यविधि स्वीकृत गर्ने निर्णय समेत गरिएको छ।

