

कञ्चनपुर । जिल्लाका विभिन्न स्थानमा प्रहरीले भन्सार छलि गरी नेपाल भित्र्याइएका सामान बरामद गरेको छ भने छुट्टै सवारी दुर्घटनामा दुई मोटरसाइकल चालक घाइते भएका छन्।
भीमदत्त नगरपालिका–११ गड्डाचौकीमा शुक्रबार साँझ ५ बजे प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका मोबाइल कभर, हार्डवेयर, किराना तथा फलफूल बेवारिसे अवस्थामा फेला पारेको हो। बरामद सामानको अनुमानित मूल्य १ लाख १८ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ।
त्यसैगरी शनिबार बिहान ११ बजे भीमदत्त नगरपालिका–१० गज्जर क्षेत्रमा प्रहरी चौकी जिमुवाबाट प्रहरी सहायक निरीक्षक शेरसिंह कार्कीको कमाण्डमा खटिएको टोलीले भारतबाट भन्सार छलि गरी ल्याइएको ६ हजार १५० रुपैयाँ बराबरको तरकारी बेवारिसे अवस्थामा फेला पारी भन्सार कार्यालय पठाएको छ।
यस्तै, बेलौरी नगरपालिका–१ खल्लामा प्रहरी चौकी फटैयाबाट प्र।स।नि। मानसिंह धामीको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट अवैध रूपमा ल्याइएको ब्रोइलर कुखुरा, डिउ पेय पदार्थ र कालो प्लास्टिक बरामद गरेको छ। बरामद सामानको मूल्य १४ हजार ४ सय रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
उक्त सामानमध्ये ब्रोइलर कुखुरा र डिउलाई दिउँसो पौने ४ बजे पत्रकार तथा स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।
उता, भीमदत्त नगरपालिका–२ भाँसीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार दिउँसो साढे १ बजे दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।
दुर्घटनामा बेदकोट नगरपालिका–१० का २८ वर्षीय गोविन्द कुँवर घाइते भएका छन्। उनको दाहिने हात र खुट्टामा चोट लागेको छ। उनलाई महेन्द्रनगर प्रादेशिक अस्पताल मा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दोस्रो मोटरसाइकल चालक भीमदत्त–१२ का २८ वर्षीय किशन मल्ल पनि उपचारमा संलग्न छन्। दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ।

