

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई १५र१५ दिनमा तलबभत्ता उपलब्ध गराउने तयारी गरेको छ ।
अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन भनिसकेको छ ।

महालेखा नियन्त्रक शोभाकान्त पौडेल मन्त्रालयबाट परिपत्र आएको र अब उक्त निर्णय चाँडै कार्यान्वयन पनि हुने बताए । ‘अर्थमन्त्रालयबाट परिपत्र आइसकेको छ । यो छिट्टै कार्यान्वयन हुन्छ,’ उनले भने ।
मन्त्रालयका अनुसार, समयमै कर्मचारीको हातमा पैसा जाओस् र अर्थतन्त्र चलायमान होस् भन्ने उद्देश्यले यो निर्णय भएको हो ।
निर्णय कार्यान्वयनका लागि ऐनमा संशोधन आवश्यक
हाल सरकारी कर्मचारीहरुले मासिक रुपमा तलबभत्ता पाउँदै आएका छन् । हरेक महिनाको अन्तिम सातामै सम्बन्धित कर्मचारीको बैंक खातामा तलबभत्ता पठाउने गरिन्छ ।
तर अब १५ दिनमै तलबभत्ता खुवाउने निर्णय कार्यान्वयन गर्न संघीय निजामती सेवा ऐनमा व्यवस्था गर्नुपर्ने हुन्छ । ‘साविकको ऐनमा निजामती कर्मचारीले प्रत्येक महिना भुक्तान भएपछि तलब र भत्ता पाउने भए भत्ता समेत पाउनेछ भन्ने व्यवस्था छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘१५ दिनमा तलबरभत्ता खुवाउनुअघि त्यो व्यवस्था संशोधन गर्नुपर्छ ।’
वर्तमान सरकार संघीय निजामती सेवा ऐन जारी गर्ने तयारीमा छ । त्यसमै १५(१५ दिनमा तलबभत्ता खुवाउने व्यवस्था राख्ने तयारी छ ।
‘संघीय निजामती सेवा ऐन पास भएपछि जतिबेला पनि निर्णय कार्यान्वयन गर्नुपर्ने हुनसक्छ । त्यसको लागि आवश्यक तयारी गरेर बस भनेको हो,’ अर्थ मन्त्रालय स्रोतले भन्यो ।

